राष्ट्र बैंकले डेढ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा लगानी गर्न माग्यो प्रस्ताव

  २०७४ भदौ १५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको रकम लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव मागेको छ । बैंकले विभिन्न कोषमा भएको १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ १ वर्षका लागि मुद्धति लगानी गर्ने भएको छ ।

आउदो असोज १ गतेदेखि २०७५ भदौं ३१ गते सम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । कुल रकम मध्ये वाणिज्य बैंकले १ अर्ब २२ करोड १० लाख, विकास बैंकले २२ करोड ८९ लाख र वित्त कम्पनीले ७ करोड ६३ लाख रुपैयाा लगानी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रस्ताव पेश गर्ने मिति आउदो सोमबारलाई तोकिएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सिघ्र सुधारत्मक कार्वाही फुकुवा भएको ६ महिना बितिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।