२०७४ मंसिर ७ गते १८:२३ विकासन्युज
बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् ।
कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् ।
चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए ।
के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् ।
त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् । दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो ।
कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् । त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् ।
उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.