प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट शुरु, जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य

  २०७४ मंसिर २८ गते १४:०२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिबार(आज)देखि कारोबार सुरु गरेको छ । उक्त कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले गरेका हुन् । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताएका छन् । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरेका छन् ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताएका छन् । भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन्। ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं। जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ’ उनले भने, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं।’

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् ।

सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने बताएका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने निर्णय गरेको छ ।