सिमेन्ट र रड उद्योगीले अटेर गर्दा विभागले काट्यो २४ घन्टे पुर्जी

  २०७४ माघ ३ गते १८:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सिमेन्ट र रडको भाउ बढेपछि चारैतिरबाट सरकारको आलोचना भएको थियो ।

त्यसलाई मध्यनजर गर्दै आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले धादिङको धार्केमा पुस २४ गते सिमेन्ट तथा रड बोकेको २४ ओटा ट्रकलाई नियन्त्रणमा लिई कागजात जफत गरेको थियो ।

जगदम्बा स्टिल उद्योग, अम्बे स्टिल उद्योग, मारुती सिमेन्ट उद्योग, शिवम् सिमेन्ट, नारायणी, अग्नि लगातका विभिन्न सिमेन्ट तथा रड उद्योगका ती ट्रकहरुबाट विभागले अनुसन्धानको लागि कर भर्पाइ, बिलबिजक चलानी लगायतका आवश्यक कागजात  नियन्त्रणमा लिइसकेको छ ।

कागजात नियन्त्रणमा लिएसँगै अनुसन्धानको लागि सम्बन्धित उद्योगका आधिकारिक प्रतिनिधिलाई विभागमा तत्काल उपस्थित हुन निर्देशन दिइएको थियो ।

निर्देशनलाई अटेर गरेपछि मंलबार ती सम्पूर्ण २४ ओटै ट्रक सम्बन्धि उद्योगहरुको नाममा २४ घन्टे पुर्जी काटिसकेको शाखा अधिकृत राजेशकाजि श्रेष्ठले बताए । पुर्जी पत्र प्राप्त गरेको २४ घन्टाभित्र अनुसन्धानको लागि ती उद्योगहरुको प्रतिनिधिहरु विभागमा उपस्थित हुनु पर्ने भनिएको छ । यदि उपस्थित नभएको अवस्थामा कार्बाही प्रक्रियाअघि बढाउने जनाइएको छ ।

कम्तिमा पनि माघ महिनाभित्र सम्बन्धित उद्योगीहरु अनुसन्धानको दायरामा आउने र अनुसन्धान अघि बढ्नेमा उनी विस्वस्त छन् । ‘छानविनपछि कसरी अघि बढ्ने निक्र्यौल हुन्छ,’ उनले भने ‘पूर्जी काटेयता केही उद्योगहरु विभागमा उपस्थिति हुन थालेका छन् ।’ उनको अनुसन्धानको क्रममा ठगी अथवा कालोबजारी गरेको भेटएमा सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढ्नेछ ।

विभागको अनुसार पछिल्लो समय प्रतिबोरा सिमेन्टमा २ सय र रडमा किलोको १० रुपैयासम्म बढेको उजुरी आएको छ । सिमेन्ट उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थको मूल्य बढेकोले मूल्य बढाउन बाध्य भएको बताएका छन् भने, निर्माण व्यवसायीहरुले पुनर्निर्माणको मौका छोपि उद्योगीहरुले सिमेन्ट र रडको भाउ बढाइ कालोबजारी गरेको आरोप लगाएको छ ।