नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता

  २०७४ चैत १४ गते १३:४९     विकासन्युज

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।

उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए ।

सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए ।

‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’

पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।