बीपीसीको लाभांशमा लगानीकर्ता लोभिए, मंगलबार सबैभन्दा बढी सेयर कारोबार

  २०७४ चैत २७ गते १५:३२     विकासन्युज

काठमाडौं । सेयर बजार घटेपनि मंगलबार लगानीकर्ता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लाभांशमा लोभिएका छन् ।

बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलबार बीपीसीको प्रतिकित्ता ४६१ रुपैयाँमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीपीसीको २९ हजार ८०० कित्ता सेयर किनबेच भएको छ ।

कम्पनीलको सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) भन्दा कम भएको छ । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । ५०१ रुपैयाँमा एफपीओ किन्ने लगानीकर्ताले २० रुपैयाँ नगद लाभांश पाउने छन् । सोमबारको तुलनमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ ।

एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो ।

नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ ।