२०७५ वैशाख २३ गते १६:२७ विकासन्युज
काठमाडौं । नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला व्यवसायको क्षेत्रमा लगानी गर्ने सम्झौता भएको छ । वित्तीय पहुँचलाई विस्तार गर्नको लागि यी दुई संस्थाले एक अर्काबीच हातेमालो गरेका हुन् ।
यस सम्झौता पश्चात बैंकले हाल सञ्चालित लघु, साना र मझौला व्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उदेश्यले एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण क्षेत्रमा उक्त व्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको गर्ने बताएको छ । सोही लक्ष प्राप्तिको लागि दुई संस्थाले एक सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
बैंकले आइतबार मिड-कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन गरेको छ । युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा रहेको उक्त हबको उद्घाटन बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका हुन् ।
यस हबले मिड-कर्पोरेट तथा साना तथा मझौला प्रकृतिका व्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायीहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी कार्यहरुलाई समेत हेर्ने गर्दछ ।
मिड-कर्पोरेटले एउटा इकाई तथा समुहलाई ३ करोड देखी १० करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ । एसएमइले ३ करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी, होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने सेयर लगानीलाई समेत समेट्छ ।
कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले यस हबको उद्घाटन र सक्षमसँग समझदारीपत्रमा भएको हस्ताक्षरले देशभरी एसएमई तथा मिड-कर्पोरेट कर्जाको हिस्सालाई विस्तारको लागि बैंकले गरेको प्रतिवद्धतालाई थप मजवुत गराएको बताएका छन् । उनका अनुसार यस बैंकसँग एसएमई तथा मिड-कर्पोरेट कर्जा २५ अर्ब रुपैयाँ रहेको छ ।
त्यसैगरी सक्षमका टिम लिडर वलजित वोहराले भने “यस एसएमई हब मार्फत साना तथा मझौला व्यवसायको वित्तीय आवष्यकतालाई सरल तथा सहज किसिमबाट पुरागर्न संसारमा स्थापित उच्चतम अभ्यासहरु तथा सेवाप्रदान गर्ने संयन्त्रहरुलाई प्रयोगमा ल्याउन मद्दत गर्ने छौं । ”
कार्यक्रमा नबिल बैंकले नयाँ व्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका व्यापारिक, उत्पादनमुलक तथा सेवामुलक व्यवसायलाई सहयोग प्रदान गर्ने उदेश्यले उक्त सेवा प्रदान गर्न लागेको बताएको छ । आकर्षक निश्चित ब्याजदर ११.५०, सरल तथा छोटो प्रकृया, ५ दिन भित्रमा कर्जा स्वीकृत, कर्जा रकमको सिमा ५ लाख देखि ३ करोड रुपैयाँसम्म, मध्यमस्तरको प्रगति उन्मुख ब्यवसायलाई आवष्यक पर्ने सबै प्रकारको लगानीको लागि यस सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
साथै, बैंक अत्यन्त सरल व्याजदरमा नबिल एसएमइ फास्टट्रयाक कर्जा नामको कर्जा सुबिधा प्रदान गर्ने कामको शुरुवात गरेको छ । यो सेवा यस बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.