प्रभु लाइफ इन्स्योरेन्स अब पोखरामा, ६० करोडको साधारण सेयर जारी गर्दै

  २०७५ वैशाख ३१ गते १९:१३     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोही प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् ।

कार्यक्रममा गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने कुरामा जोड दिएका छन् । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरेका छन् ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको बताएका छन् । साथै, आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य राखेको उनले बताए ।

२ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दै छ ।