२०७५ जेठ १ गते १९:४५ विकासन्युज
काठमाडौं । कमोडिटि फ्यूचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स) ले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याइ बजार सञ्चालन गर्ने तयारी गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली, २०७४ मा तोकिएको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेसँगै उक्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुर्याउने तयारी गरेको हो ।
उक्त एक्सचेन्ज लिमिटेडमा नेपालमा रहेका विभिन्न व्यवसायिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुहरुले लगानी गर्ने भएका छन् ।
वर्ल्ड लिंकको प्रबद्र्धक दिलिप अग्रवालदेखि गोयल ग्रुपका चिराग गोयलसम्मका लगानी
कम्पनीमा लगानी गर्नेहरुमा वर्ल्ड लिंकको प्रबद्र्धकहरु दिलिप तथा मनोज अग्रवाल, कृषि क्षेत्रमा कार्य गर्दै आएको निम्बस ग्रुप अन्तरर्गतको कम्पनी नेपाल वेयरहाउजिंग तथा त्यसका प्रवद्र्धक आनन्द बगारिया रहेका छन् ।
त्यस्तै पूर्व गभर्नर डा. तिलक रावल, इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई, विद्युत उत्पादन गर्ने कम्पनी सुपर आँखुखोलाका प्रबन्ध सञ्चालक विश्वनाथ कँडेल, गोयल ग्रुपकातर्फबाट चिराग तथा अनुराग गोयल, प्रभु क्यापिटलका सञ्चालक सुवास अमात्य, चाँदीको आयतको क्षेत्रमा काम गर्दै आएको कम्पनी नवदुर्गा ट्रेडिङ कन्सर्न र लगानी व्यवस्थापन कम्पनी नेशनल मर्चेन्ट बैंकसहित ४२ जनाको लागानी रहने भएको छ ।
केही महिना अघि मात्रै धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अन्तर्गत रहेर वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन सूचना जारी गरेको थियो । सोही अनुसार सिएफएक्सले वस्तु विनिमय बजार सञ्चानलका लागि आवश्यक सबै प्रक्रियाहहरु सम्पन्न गरी पूर्वस्वीकृतिका लागि धितोपत्र बोर्ड समक्ष आवेदन दिइसकेको जनाएको छ ।
सिएफएक्सले २०६८ सालदेखि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई २०६८ फागुनदेखि वस्तु विनिमय बजार सञ्चालन गर्दै आइरहेको छ ।
कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्नेसम्मको योजना
कम्पनीले कृषि उपजहरुको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्दै अगाडी बढाउने योजना अघि सारेको छ । अलैँजी, अदुवा, कफी लगायतको कारोबार अनुमति पाए महिना दिन भित्र हाल रहेको जनशक्ति तथा पूर्वाधार परिस्कृत गर्दै अध्ययन गर्ने र केही कारोबार शुरु तयारी गरेको छ । साथै संस्थागत सुशासनका अन्तर्राष्ट्रिय मान्यताहरुलाई लागू गरी अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा बजारको विकास गर्ने योजना समेत रहेको जानकारी गराएको छ ।
त्यस्तै नेपाली कृषि उत्पदानको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्ने व्यवस्था मिलाई कृषि उपजलाई वस्तु बजारको संयन्त्रभित्र ल्याई कारोबार गर्न योग्य बनाउन अध्ययन कार्यदल बनाइने, गोदाम घर रशिद (वेयर हाउस रिसिप्ट)लाई वित्तीय उपकरण बनाई बैंक ऋण तथा कारोबारका लागि व्यवस्था मिलाउन नियामक निकायसँग समन्वय गर्ने । सँगै कानूनी तथा भौतिक पूर्वाधारको किवासको कार्य अघि बढाउने बताएको छ ।
कृषि उत्पादनको कारोबार प्रणालीलाई सहजीकरण गर्न तथा गोदाम घरमा जम्मा भएको कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्ने व्यवस्था मिलाउन डिम्याट तथा रिम्याट प्रणाली सहितको ग्रेन बैंक सोलुसन अर्थात कमोडिटि डिपोजिटरी सेवा सञ्चालनमा ल्याउने लगायतका कम्पनीले भावि योजना अघि सारेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.