२०७५ जेठ १० गते १९:५८ विकासन्युज
काठमाडौं । नेपालीकै बलवुताबाट स्थापित डिआरएन इलेक्ट्रोनिक्सले स्थापनाको १९ वर्ष पुरा गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सफलतापूर्वक १९ वर्ष पार गरेको अवसरमा कम्पनीले एक समारोहको आयोजना गरेको छ ।
चुनौती र अबसरबीचको १९ वर्ष
दुई दशकअघि चिनिया ब्राण्डको दबदबा रहेको सयमा स्वदेशी ब्राण्ड इलेक्ट्रोनिक्स सामानको उत्पादन गरी नेपालीलाई आकर्षण गर्ने उद्देश्यले डिआरएन इलेक्ट्रोनिक्स २०५६ साल असोज १७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइ सञ्चालनमा आएको हो ।
‘शुरुमा हामी पनि चीनसँगको व्यापारमा सहभागी भयौं । चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम थाल्यौं,’ कार्यक्रममा कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने ‘तर पछि चिनियाँ ब्राण्ड मात्रै ल्याएर सामान बिक्री गर्नुभन्दा आफ्नै ब्राण्ड स्थापना गर्नुपर्ने आवश्यकता ठानी सोही टुङ्गोमा पुगेका थियौं ।’ सोही निर्णय अनुसार कम्पनीले स्वदेशी ब्राण्ड उत्पादन गर्न थालेको हो ।
स्वदेशी ब्राण्ड स्थापना गर्नमा दुई कारण रहेको उनले प्रष्ट्याए । उनको अनुसार एक स्वदेशी ब्राण्डप्रति नेपालीलाई आकर्षित गर्ने र अर्को सकेसम्म कम मूल्यमा गुणस्तरीय सामान उपभोक्तामाझ पुर्याउने थियो ।
‘त्यो बेला चिनियाँ इलेक्ट्रोनिक्स सामानहरुमा वारेन्टी र ग्यारेन्टी थिएन,’ उनले थपे ‘हामीले डिआरएन ब्राण्डका इलेक्ट्रोनिक्स समान उत्पादन गरेर बिक्री गर्न थालेपछि वारेन्टीको व्यवस्था समेत गर्यौं ।’
चिनियाँ सामानको दबदबा भएको बेला नेपाली ब्राण्ड स्थापना गर्नु चानचुने कुरा नभएको अध्यक्ष श्रेष्ठ सम्झन्छन् । ‘त्यसमा पनि चीनमा समान बनाएर आफ्नो ब्राण्डमा बिक्री गर्नु आफैमा चुनौतीपूर्ण थियो,’ उनले थपे ‘विगत सम्झिँदा अहिले आनन्दको अनुभूति हुन्छ । विगतको कठिन परिश्रमको कारणले अहिले डिआरएन आम नेपालीमाझ लोकप्रिय बनेको छ ।’
१९ वर्षअघि डिआरएन शुरु गर्दा कम्पनीले आफ्नो ब्राण्डको विभिन्न मोडलका रेडियोहरु, मिनी क्यासेट प्लेयर वाकमेन र भिसिडी बनाएर बिक्री गरेको अनुभव उनले कार्यक्रममा सुनाए । त्यस समय १० हजार पिस बनाएर ल्याएको भिसिडी एक महिनामै बिक्री भएपछि अन्य इलेक्ट्रोनिक्स ब्राण्ड समेत ल्याउने निधो गरेको उनी सम्झन्छन् ।
रेडियो, भिसिडीबाट शुरु गरेको उत्पादन बिस्तार गरेर कम्पनीले सिआरटी टेलिभिजन, एलसिडी टेलिभिजन, डिआरएन एलइडी टेलिभिजन हुदै अहिलेसम्ममा स्मार्ट कर्भ टिभी बजारमा ल्याएको छ । टिभीको गुणस्तर, इन्नोभेसन, क्वालिटीमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता कम्पनीको छ ।
कम्पनीले आफ्नो टेलिभिजन अरु बहुराष्ट्रिय कम्पनीहरुका टिभीभन्दा राम्रो भएको अध्यक्ष श्रेष्ठको दावी छ । त्यस्तै मूल्यका हिसाबले पनि रिजनेवल छ ।
टेलिभिजन मात्रै नभएर कम्पनिले डिआरएन ब्राण्डका विभिन्न स्पीकर, मल्टिमिडिया, टेलिफोन सेट, इमर्जेन्सी लाइट, पंखा, सिएफएल तथा एलइडी लाइट, टर्च लगायतका उत्पादनहरु गरिरहेका छन् । निकट भविश्यमै कम्पनीले डिआरएन ब्राण्डको राइस कुकर, भ्याकुम क्लिनर, रेफ्रिजिरेटर, हेलोजिन हिटर लगायत बजारमा ल्याउने अध्यक्ष श्रेष्ठले कार्यक्रमको अवसरमा जानकारी दिए ।
यस्ता छन् विश्वकप लक्षित उपहार योजना
कम्पनीले आफ्नो ब्रान्डका स्मार्ट कर्भ टिभी खरिदकर्तालाई विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । डिआरएन इलेक्ट्रोनिक्स स्थापनाको १९ वर्ष पुरा भएको र नजिकिदै गरेको विश्वकप फूटबलको अवसर पारेर बिहीबार नै उक्त योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा कम्पनीका निर्देशक रजनीश श्रेष्ठले कम्पनी १९ वर्ष पूरा गरेको अवसरसँगै रुसमा तीन साताभित्र हुन गाइरहेको विश्वकप फूटबललाई लक्षित गरेर स्मार्ट टिभी खरिदकर्तालाई आकर्षक अफरसहितको विशेष योजना घोषणा गरे ।
उपहार योजना अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएनकै २.१ स्पिकर उपहार प्रदान गरिनेछ । ‘उक्त टिभीमा १०० डीग्रीको कोणदेखि हेर्दा पनि पिक्चर क्लीयर देख्न सकिन्छ । साथै एक वर्षको ग्यारेन्टी छ,’ उनले भने ।
त्यस्तै कम्पनीले ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई –८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १११ टेलिफेन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने घोषणा कम्पनीले गरेको छ ।
विश्वकप फूटबल–२०१८ डीआरएन टिभीकोसाथमा ग्राहकवर्ग तथा खेलप्रेमीले हेर्ने कम्पनीका निर्देशक श्रेष्ठको विश्वास छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.