२०७५ जेठ १६ गते १९:१० विकासन्युज
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य रहेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणलाई दिइएको समयभित्र पुनर्निर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने बताएका छन् ।
साथै, भूसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनहरुको पुनर्निर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराएका छन् ।
युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले पुनर्निर्माणको प्रशंसा गरेका छन् । उनीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरी भूकम्पपछि भइरहेको पुनर्निर्माण अवस्था बारे जिज्ञासा राखी सो कुरा बताएका हुन् ।
बुधबार प्राधिकरण कार्यालयमा भएका छुट्टाछुट्टै भेटमा युरोपेली कमिसनका भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनहरुको पुनर्निर्माणका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सीमितता तथा संक्रमणकालका बाबजूद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएकोमा प्राधिकरणको प्रशंसा भएको छ ।
भूसालले पुनर्निर्माणमा युरोपेली युनियन र न्यूजिल्याण्डले पुर्याएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.