धादिङ र उदयपुरमा मेगा बैंकको नयाँ शाखा, थप ६ वटा शाखा खोल्ने तयारी

  २०७५ जेठ २० गते १७:२६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङ र उदयपुरमा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले धादिङको सल्यानटार र उदयपुरको मुर्कुचेमा थप दुई शाखा विस्तार गरेको हो ।

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने बैंकले जनाएको छ ।