२०७५ असार ४ गते १७:५० विकासन्युज
काठमाडौँ । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नदिने उद्योगीलाई प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई बोलाई तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानून बमोजिम सात दिनभित्र कारवाही गरी गृहमन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकले निर्देशन दिएको छ ।
यसैगरी बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सञ्चालन अनुमति दिने निकायहरु खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानिय तहहरुले अनुमति दिए अनुसार पाँच दिनभित्र सो को विवरण गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.