२०७५ असार ४ गते १९:२९ विकासन्युज
काठमाडौं । सार्क देशहरुको आपसी व्यापारको हिस्सा जम्मा व्यापारको ५ प्रतिशतभन्दा कम हुने गरेको छ । सिहंदरबारमा सार्कका महासचिव अम्जाद हुसैन वि. सयल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव बीच भएको भेटको क्रममा सार्कका महासचिवले सो कुरा जानकारी गराएका थिए ।
उनले भेटमा भने, ‘सार्क देशहरुको आपसी व्यापारको हिस्सा जम्मा व्यापारको ५ प्रतिशत भन्दा कम छ ।’ सार्क क्षेत्रको आपसी व्यापार नगन्य हुनुमा प्रकृयागत झन्झट मुख्य वाधक रहेको उनकाे भनाइ छ ।
त्यस्तै उनले सन् २०१४ पश्चात मन्त्रीस्तरिय सम्मेलन तथा विज्ञ समितिहरुको बैठक आयोजना हुन नसकेको, कनेक्टीभिटीमा वृद्धि हुन नसकेको जानकारी गराए । उनको अनुसार जबसम्म त्यसलार्इ ध्यान दिइन्दैन तबसम्म सार्क क्षेत्रको उन्नती हुन नसक्ने उनको धारणा छ ।
उनको अनुसार सार्क मुलुकहरुकोबीच सडक, हवाई र रेल सञ्जालहरु विस्तार हुन आवश्यक छ । उद्योग मन्त्री यादवले सार्क राष्ट्र सबै सदस्यहरुको साझा भएको भन्दै यसलाई अगाडी बढाउन साझा प्रयत्न गर्नु पर्ने बिचार राखे ।
बैठक र छलफलबाट सबै समस्याहरु समाधान गर्न सकिने भन्दै उनले सार्कबीचको कनेक्टिभिटी बढाउन नेपालले सहयोगी भूमिका निर्वाह गर्ने सार्कका महासचिवलाई अम्जाद हुसैन वि. सयल विश्वास दिलाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.