लामो चेकलिष्ट बोकेर बीमा कम्पनीहरूमा छिर्यो बीमा समिति, ३९ वटै कम्पनीको स्थलगत निरीक्षण हुने

  २०७५ भदौ १३ गते १०:४०     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । समितिले आज एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबाट स्थलगत निरीक्षण शुरु गरेको हो ।

उपनिर्देशक दिनेश कुमार लालको नेतृत्वमा एउटा टोली एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निरीक्षणमा खटिएको छ भने चार्टर्ड एकाउन्टेण्ट ज्योति पाण्डेको नेतृत्वमा अर्को टोलीले सिद्धार्थ इन्स्योरेन्समा निरीक्षण थालेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक वर्षमा ३९ वटै बीमा कम्पनीहरुको स्थलगत निरीक्षण गर्ने कार्य योजना बनाएको छ । निरीक्षण गर्दा बीमा ऐन, कम्पनी ऐन, बीमा समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका, अन्य निर्देशन तथा नियमावलीहरु, सम्बन्धित कम्पनीका प्रबन्धपत्र, नियमावली, आर्थिक प्रशासन विनियमावली लगायत बीमा कम्पनीमा आकर्षित हुने सबै नियम कानुनको परिपालना भए/नभएको हेरिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।

‘हामीले लामो चेकलिष्ट तयार गरेको छौं । ती सबै कुरा स्थलगत रुपमा हेरिन्छ’ अध्यक्ष चापागाईले भने–‘निरीक्षण गर्दा देखिने साना कमी कमजोरीलाई लिएर हामी कारवाही गर्दैनौं । त्यसलाई सच्याउन निर्देशन दिन्छौं । जानीजानी वा खराब नियतले गलत काम भएको रहेछ भने नियमअनुसार कारवाही पनि हुन्छ ।’

निरीक्षण गर्दा बीमा कम्पनीहरुमा डर, त्रासको वातावरण नबनाउन निरीक्षणमा खटिने कर्मचारीलाई निर्देशन दिएको पनि उनले बताए । बीमा समितिले विगतमा नीति नियम बनाउने, निर्देशन दिने कार्यमा बढी जोड दिएको थियो । तर त्यसको कार्यान्वयन अवस्था कस्तो छ भनेर निरीक्षण गर्ने कार्य कम भएको थियो । ‘अब हामी कम्पनीहरुले नीति नियमको परिपालना गरे/नगरेको स्थलगत रुपमा नै हेर्छौ ।’

सबै कम्पनीहरुको वार्षिक रुपमा स्थलगत निरीक्षण गर्ने बीमा समितिको योजना रहेको उनले बताए । ‘यसले बीमा कम्पनीलाई सुशासित र बलियो बनाउँछ । बीमितको पनि हित हुन्छ । बीमा कम्पनीका लगानीकर्तालाई पनि लाभ हुन्छ ’ अध्यक्ष चापागार्इले भने ।