२१ औं एआईआरडिसी सम्मेलमा सम्पन्न, बीमाको पहुँच र लागत घटाउँन प्रविधिको प्रयोग आवश्यक

  २०७५ असोज १० गते १८:३७     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा अफ्रिकाको घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो । सम्मेलनको दोस्रो दिन बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयमा छलफल भएको थियो ।
बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए । त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले जानकारी दिए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले भने ।

पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमाविज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले जानकारी दिए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबीमा जारी गरि रहेका छौ,” उनले भने ।

नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।