सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने

  २०७५ माघ १८ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो ।

अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ ।
त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ ।

बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ ।
बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए ।

धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।