वीरगञ्ज आसपासका ३० व्यापारी माथि राजश्व अनुसन्धानको छानविन, को को परे ?

  २०७५ फागुन ८ गते ८:२९     विकासन्युज

काठमाडौं । व्यापारीक नाका वीरगञ्जलाई केन्द्र बनाएर व्यवसायी सञ्चालन गरिरहेका ३० जना व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । विभागले झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजश्व छलेको भन्दै छानविन अघि बढाएको हो ।

प्रारम्भिक छानविनमा राजश्व छलेको प्रमाण भेटिएपछि विभागले कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो । तर व्यवसायीहरु सम्पर्कमा नआएपछि विभागले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचनै प्रकाशित गरेको छ । अबको ७ दिनभित्र पनि ती व्यवसायीहरु विभागमा उपस्थित नभएमा सिधै अदालतमा मुद्दा दायर गर्ने विभागको तयारी छ ।

विभागले ७ दिने म्याद दिएका ३३ व्यवसायीमध्ये ३० जना बारा र पर्सा जिल्लाका छन् । बाँकी ३ जना भने सर्लाही जिल्लाका छन् । नेपालको प्रमुख भन्सार नाका बिरगञ्ज आसपासका ती व्यवसायीले झुठा विवरण तथा नक्कली बिजक मार्फत अरबौं राजश्व छलेको विभागका एक अधिकारीले जानकारी दिए । अबको ७ दिनभित्र हाजिर नभएमा उनीहरु माथि राजश्व चुहावटको मुद्दा दायर हुनेछ ।

विभागले ती फर्मका मालिकहरुको ३ पुस्ते विवरण नै सार्वजनिक गरिदिएको छ । प्रधानमन्त्री कार्यालय मातहत ल्याएर सहसचिव दीर्घराज मैनालीले जिम्मेवारी सम्हालेपछि विभागको सक्रियता बढेको देखिन्छ । यसअघि पनि विभागले राजश्व छली तथा हुण्डी कारोबारमा संलग्न दर्जनौंलाई अर्बाैँ विगो दावीसहित मुद्दा दायर गरिसकेको छ ।