२०७५ फागुन १६ गते १६:२९ विकासन्युज
काठमाडौं । रातभरी परेको पानीले उपत्यका आसपासका डाँडाहरु हिउँले सेताम्मे बने । हिउँले भरिएका डाँडाहरुमध्ये आन्तरिक पर्यटकहरुको अत्यधिक आकर्षणको केन्द्रका रुपमा स्थापित चन्द्रागिरि डाँडामा आन्तरिक पर्यटक भरिभराउ देखियो ।
एकै दिन १५ हजार आन्तरिक पर्यटक पुगेर बनेको पुरानो रेकर्ड तोडिने सम्भावना रहेको चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेक प्रताप शाहले बताए । ‘२०७५ सालको नयाँ बर्षमा १५ हजारले भिजिट गरेका थिए, यसपाली त्यो रेकर्ड तोडिन्छ भन्ने आस छ’, शाहले भने ।
चन्द्रागिरिमा बिहानै देखि आगन्तुकहरुको खचाखच भिड देखिन्थ्यो । करिब २ किलोमिटर लामो लाइनमा बसेर आगन्तुकहरु चन्द्रागिरी डाँडोमा पुग्न आतुर देखिन्थे ।
करिब १४ मिनेट केबलकारको यात्रापछि काठमाडौं खाल्डोबाट सिधै चन्द्रागिरिको डाँडोमा पुग्न सकिन्छ जहाँ सेताम्मे डाँडापाखा हेरेर मोहित नहुने सायदै होलान् । रुखका पात र हाँगाहरुमा जमेका हिउँलाई हेर्दै रमाउन के बालबालिका, के युवायुवती सबै झुम्मिएको देखिन्थे ।
राजधानीबाट हिउँ खेल्न जाने पुराना गन्तव्य नगरकोट, शिवपुरी र फुल्चोकी हुन् । तर त्यहाँसम्म पुग्दा हिउँ पग्लिसक्ने सम्भावना रहन्थ्यो । हिउँ पर्ने सम्भावित दिन हेरेर अघिल्लो दिन नै त्यता लाग्नुपर्ने बाध्यता समेत थियो ।
तर चन्द्रागिरिमा केबलकार बनेसँगै हिउँ खेल्ने चाहना क्षण भरमै पुरा हुन्छ । हिउँ परेको जानकारी पाएको अधिकतम एक घण्टा नपुग्दै हिउँ खेल्ने अवसर प्राप्त हुन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.