किन चर्चित छ नेपालमा यामाहाको ‘एफजि भी३’ ?

  २०७६ असोज ७ गते १९:५५     विकासन्युज


काठमाडौँ । यामाहाले केहि महिना अघि एफजिको भर्जन ३ लाई पुरानो भर्जनभन्दा फरक डिजाइनका साथ सार्वजनिक गरेको थियो । एफजि भी३ आफ्नो पुरानो भर्जन एफजि भी२ भन्दा अझ बढि मस्कुलर र कम्फर्टेवल रहेको छ ।

यामाहाले एफजि भी३ मा विल्कुलै नयाँ एलईडि हेडलाइट दिएको छ जुन यामाहाकै एफजि २५ को हेडलाइट सँग मेल खान्छ । त्यसैगरी यस बाइकमा दिइएको मस्कुलर ट्याङ्कको कारण यो बाइक एकदम ह्याभि र एग्रेशिभ पनि देखिन्छ । यामाहाले सिङ्गल सिट सेटअप, वाइड हेण्डल वार, बेली प्यान, नयाँ एक्जस्ट, नयाँ इन्स्ट्रुमेन्ट कन्सोलजस्ता कुराहरुको सहायताले एफजि भी ३ लाई पूर्णरुपमा नयाँ लुक्स दिन सफल भएको छ । त्यसैगरी पिलियन कम्फर्टमा विशेष ध्यान पुर्याएको यस बाइकको सिटको सर्फेस एरिया भने पहिलेभन्दा १६ प्रतिशतले बढी छ ।

५–स्पिड गियरबक्स दिइएको एफजि भी३ मा १४९ सीसी सिङ्गल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले १३.२ पिएसको पावर र १२.८ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिन फ्यूल इन्जेक्टेड इञ्जिन हो जसको विशेषता बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपता ल्याउनु र त्यसैगरी इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्नु हो । त्यसैगरी यस बाइकको टप स्पिड १२० केएमपीएच हो भने यसले लगभग ५० केएमपीएलको माइलेज दिन्छ ।

दुवै चक्कामा डिस्क ब्रेक भएको यस बाइकको अगाडिको चक्कामा एबीएस दिइएको छ जसले अकस्मात ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ ।

नेपालका लागि यामाहा टू व्हिलर्सको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.ले नेपाली बजारमा एफजिएस भी३ को मूल्य रु.३,१५,९०० तोकेको छ । यसको आकर्षक लुक्स, कम्फर्टेवल सिट, राम्रो माइलेज र त्यसैगरी एफआई इञ्जिन र एबीएसजस्ता आधुनिक फिचरका कारण यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्न सकिन्छ ।

अहिले दशैं अफरको रुपमा एफजिएस भी३ मा स्क्र्याच कुपन मार्फत् कम्तीमा रु.७,००० देखि रु.१,००,००० सम्मको नगद छुटको व्यवस्था रहेको कुरा कम्पनीले जनाएको छ ।