२०७६ मंसिर १२ गते १२:२७ विकासन्युज
काठमाडाैं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको ‘सुजुकी एक्सेस’ ले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर ‘बर्गम्यान स्ट्रीट’ बजारमा ल्याएको हो ।
सुजुकीले बर्गम्यान स्ट्रीटलाई म्याक्सी स्कुटरका रुपमा नेपाली बजारमा ल्याएको हो । सामान्यतया म्याक्सी स्कुटर भन्नाले टुरिङ्ग स्कुटरलाई जनाउँछ जसको साइज ठूलो हुनुका साथै पावरफुल इञ्जिन समेत समावेस गरिएको हुन्छ । म्याक्सी स्कुटरको मुख्य उद्देश्य भनेकै चालकलाई कम्फर्ट प्रदान गर्नु हो ।
बर्गम्यान स्ट्रीट सामान्य स्कुटरको तुलनामा ठूलो देखिन्छ र यसको रोड प्रेजेन्स पनि दमदार रहेको छ । चौडा एप्रोन, ठूलो विन्डस्क्रीन, लामो र चौडा सिट र त्यसैगरी यसको कम्फर्टेवल राइडिङ्ग पोजिसनले यस स्कुटरलाई म्याक्सी स्कुटर बनाउनमा ठूलो मद्दत पुर्याएको छ । त्यसैगरी विभिन्न ठाउँहरुमा जडित क्रोमले त झन् यस स्कुटरलाई प्रिमियम लुक्स समेत प्रदान गरेको छ ।
बर्गम्यान स्ट्रीटमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेस गरिएको छ । र त्यसैगरी स्कुटरको स्टोरेज पकेट भित्र चार्जिङ्ग सकेटको पनि व्यवस्था गरिएको हुनाले स्कुटर कुदाउँदै मोवाइल चार्ज समेत गर्न सकिन्छ । यस स्कुटरको अगाडिको टायर सुहाउँदो साइजको भएता पनि पछाडिको टायर भने बडिको तुलनामा अलि सानो देखिन्छ । सुजुकीले बर्गम्यान स्ट्रीटको अगाडिको चक्कामा डिस्क ब्रेक जडान गरेको छ र त्यसैगरी स्कुटरमा कम्वाइन्ड ब्रेकिङ्ग सिस्टम पनि रहेको छ जसले यसको ब्रेकिङ्गलाई थप प्रभावकारी समेत बनाएको छ ।
बर्गम्यान स्ट्रीटमा १२४ सीसीको इञ्जिन समावेस छ जसले ८.५ बीएचपीको पावर र १०.२ एनएमको टर्क प्रदान गर्दछ । त्यसैगरी ५.६ लिटर पेट्रोल अटाउने क्षमता भएको यस स्कुटरले ५३.५ केएमपीएलको माइलेज दिन्छ भनी कम्पनीले दावी गरेको छ ।
अगाडिको भागमा १२ इञ्चको र त्यसैगरी पछाडिको भागमा १० इञ्चको अलोए ह्वील लगाइएको यस स्कुटरको सिट हाइट ७८० मिलिमिटर रहेको छ । त्यसैगरी ग्राउण्ड क्लियरेन्स भने १६० मिलिमिटर रहेको छ । हेर्दा हेभी देखिने यस स्कुटरको कर्ब वेट भने १०८ के.जी. मात्र रहेको छ । नेपाली बजारमा हाल यो स्कुटर ब्ल्याक, ह्वाइट र ग्रे गरी तीन कलर अप्सन्समा उपलब्ध रहेको छ ।
धेरै भन्दा धेरै राम्रा फिचरहरु हुँदाहुँदै पनि यस स्कुटरमा पार्किङ्ग ब्रेक, पास वाइ स्वीच र इञ्जिन किल स्वीच चाहिँ समावेश गरिएको छैन । यदि स्कुटरमा यी कुराहरु पनि समावेस गरिन्थ्यो भने अझ सुनमा सुगन्ध थपिने थियो भन्ने हाम्रो ठम्याइ रहेको छ ।
नेपालका लागि सुजुकी टू ह्वीलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस स्कुटरलाई नेपाली बजारमा दुई लाख २९ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.