यामाहाको नयाँ अफरोड बाइक सार्वजनिक, आर१५ कै इञ्जिन समावेश

  २०७६ मंसिर १७ गते १९:४०     विकासन्युज

काठमाडौं । यामाहाले विल्कुलै नयाँ अफरोड मोटरसाइकल ‘डब्लुआर १५५आर’ सार्वजनिक गरेको छ । यामाहाकै ‘आर१५’ मा आधारित रहेर निर्माण गरिएको सो मोडेललाई इन्डोनेसियामा सोमवार सार्वजनिक गरिएको हो ।

‘डब्लुआर १५५आर’मा आर१५ मै प्रयोग भएको इञ्जिन समावेस गरिएको छ । तर यस इञ्जिनलाई बाइकको अफरोडिङ्ग विशेषतालाई मध्यनजर गर्दै थोरै परिमार्जन गरिएको छ । डब्लुआर १५५ आरमा उक्त १५५ सीसी इञ्जिनले १६.५ बीएचपीको पावर र १४.३ एनएमको टर्क प्रोड्युस गर्दछ । सेमी–डवल क्र्याडल फ्रेममा निर्माण गरिएको यस बाइकमा ६–स्पिड गियरबक्स दिइएको छ ।

उक्त बाइकमा ४१ मिलिमिटर अपसाइड डाउन फर्क तथा ग्यास–चाज्र्ड मोनोशकले सस्पेन्सनको काम गर्दछन् । त्यसैगरी सो बाइकमा अगाडि पट्टि २१ इञ्चको र पछाडि चाहिँ १८ इञ्चको डुअल–पर्पोज टायरहरु समावेस गरिएको छ । डब्लुआर १५५आरका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाले उक्त बाइकमा एबीएस भने समावेस गरेको छैन ।

हाल नेपाली बजारमा उपलब्ध भइरहेको यामाहाको एकमात्र अफरोड बाइक भनेको ‘एक्सटिजेड १२५’ हो । कम्पनीका अनुसार डब्लुआर १५५आर तत्काल नेपाली बजारमा आइपुग्ने सम्भावना भने छैन ।