२०७६ मंसिर १८ गते १२:२५ विकासन्युज
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगनखेलस्थित आर्मीको कर्भडहलमा बुधबार भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही प्रतिस्पर्धामा भारतका साजन लामाले रजत जिते भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारेका हुन् । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो ।
नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस प्रतिस्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.