बृद्धभत्ता होइन, व्यापार गर्ने ठाउँ खोजिरहेका ७९ वर्षीय चेतनाथ ढकाल

  २०७६ पुष १० गते १७:१३     नबिन पोखरेल

काठमाडौं । गायक जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीत सुन्नु भएकै छ ।

यो गीतका केही अंश यहाँ फेरि सम्झौं–

‘…कैले काँही साथ दिने बुढी थिई घर
छोराछोरी सम्झी सम्झी रुन्थी धरधर ।

मलाईभन्दा छिट्टै आयो, उसलाई पापी काल
हातखुट्टा सुन्न्याँएर घुमाई उसले चोला ।

…सिमली छायामा बसी, भरिया लामो सास फेरेको
जीबन भैसक्यो असी, झन् ठूला दुःखले घेरेको…।’

हो, ठ्याक्कै यही गीतसँग मिल्ने जीबन बाँचिरहेका छन्, ७९ वर्षीय चेतनाथ ढकाल ।

काठमाडौंको नेपाल वायुसेवा निगमको भवन नजिकै ‘काठमाडौं मल’ अगाडि छ, उनको ‘पसल’ । जुत्ता पालिस गर्ने ब्रस, कपाल कोर्ने काइयो, कपडा च्याप्ने क्लिप, कान कोट्याउने बड, टिस्यू पेपर जस्ता सामानका सडक व्यापारी हुन् ढकाल ।

हातमा केही सामान बोकेर पैदलयात्रीलाई ‘काइयो, काइयो, ब्रस, ब्रस’ भन्दै कराउनु उनको दैनिकी हो । विहान १० बजेतिर त्यहाँ आउने ढकाल घाम डुबेसँगै डेरा फर्किन्छन् ।

उनले बेच्न राखेको काइयोको मूल्य २० रुपैयाँ छ । ब्रसको ७० रुपैयाँ । यस्तै, उनीसँग भएका एयर बड, नेल–कट, टुथपिन, क्लिप, टिस्यू पेपर जस्ता सामानको मूल्य पनि धेरै छैन । अर्थात, उनीसँग भएका सबै सामान विक्री भयो भने पनि त्यसबाट उनले प्राप्त गर्ने भनेको बढीमा ७/८ सय मात्रै हो ।

पसलमा विक्रीमा राखिएको सामान उनले पनि किनेरै ल्याएका हुन् । नाफा शतप्रतिशत हुने हो भने पनि उनी दैनिक साढे ३ सयदेखि ४ सय कमाउँछन् । तर, पसलमा रहेका सबै सामान विक्री हुन्छन् होला र ?

‘कहाँ सबै बिक्छन् ? कुनै दिन त बोहोनी नै हुदैन नि !’ ढकालले भने ।

त्यसो भए कसरी चल्छ त उनको जिन्दगी ?

‘चल्छ बाबु ! खान लाउन पुगेको छ, कसैसँग हात पसार्नु परेको छैन, गरी खान पाएको छु, यसमा म खुसी छु’ ढकाल अलि खुलेर जवाफ दिन लागे ।

अनि सुनाए– जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीतसँग संयोग मिल्ने यथार्थ ।

ढकालकी श्रीमतीले यो संसार छोडेको ३४ वर्ष भएछ । श्रीमतीको देहान्त अघि नै उनका १ छोरा र ४ छोरी जन्मिसकेका थिए ।

‘श्रीमतीलाई चाँढै भगवानले लगे, छोरालाई बुहारीले लगी, छोरीहरु ज्वाइँले लानुभयो, मसँग अहिले यही एउटा पसल छ, त्यो पनि कहिले काँही नगरपालिका आएर लान्छ,’ ढकालले पीडा पोखे ।

उनले यसो भन्दै गर्दा ‘सिमली छायामा बसी…’ को अर्काे यो अंश स्मरणमा आयो–

‘…छोरीहरु हुर्के बढे बढे, घर घर गए
छोराहरु पाँचै भाइ मुग्लानीया भए…।’

जीबन यात्रा

लामो समय उनले खेती किसानीमै जीवन विताए । शरीरमा तागत छउन्जेल उनको रुची पनि खेती किसानीतिरै गयो ।

तर, बुढेसकालले छोएपछि खेती किसानी गर्ने उनका हातपाखुरा बस्न थाले । मेलापात गर्न नसक्ने भए । र, काठमाडौं झरेर लागे सडक व्यापारमा ।

यसरी व्यापार गर्न लागेको १३ महिना भएको ढकालले सुनाए । उनले २ हजार रुपैयाँको लगानीबाट यो व्यवसाय सुरु गरेका हुन् ।

‘यो व्यापारको कुनै भर छैन, कहिले काहीँ अलि धेरै विक्री हुन्छ, कहिले रित्तै,’ ढकालले सुनाए ।

गरिखान देऊ

जेष्ठ नागरिकका लागि राज्यले मासिक भत्ता दिने गरेको छ । बृद्ध उमेरमा कमाई गर्न नसक्नेहरुका लागि सरकारले यस्तो व्यवस्था गरेको हो । तर, सरकारले दिने भत्ताप्रति भने उनको खासै आशक्ति छैन ।

‘सरकारले महिनाको ३ हजार रुपैयाँ भत्ता दिन्छ, यो पैसा आउँछ भनेर सुतेर खाने कुरा पनि भएन, अझै काम गर्न सक्छु, व्यापार गर्न पनि जानेको छु, नगरपालिकाले मेरो पसल उठाउन रोक्ने हो भने व्यापार गरेर पेट पाल्न सहज हुने थियो,’ ढकालले मनका कुरा खोले ।

उनी काठमाडौको जमलमा डेरामा बस्दै आएका छन् । डेराभाडा मासिक ३ हजार रुपैयाँ छ । र, दैनिक १ सय २० रुपैयाँ तिरेर होटलमा खाना खान्छन् ।

सरकारले सडकमा व्यापार गरेर खान नदेलाका कि भन्ने चिन्ता ठूलो रहेछ उनमा । त्यसैले थपे–‘बाटोको जग्गा मेरो हो भनेको छैन, रहरले बाटोमा बेच्न बसेको होइन, सरकारले यो कुरा बुझिदिए हुन्थ्यो ।’