अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भइन् प्रथम

  २०७६ पुष १५ गते १३:१४     विकासन्युज

प्रथम पुरस्कार विजेता सुयेन भट्टराईकाे तस्बिर

काठमाडौं । अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भट्टराई प्रथम भएकी छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन प्रथम भएकी हुन् ।

भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्यनरत छिन् । त्यस्तै कास्की पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेश्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँस्थित मेक इञ्जिनियरिङ्ग कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरुप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ ।

आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि.सं. २०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १ सय ७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । रासस