२०७६ माघ ८ गते १०:२४ विकासन्युज
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’ रहेका छन् ।
त्यसैगरी, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा.रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
समितिले स्वीकृति दिएका पात्रो माघ पहिलो सातादेखि नै बजारमा आउन थालेका छन् । चाड पर्वका सम्बन्धमा धर्मशास्त्रविद्बान शास्त्रीय आधारमा निर्णय गरिएकाले यिनै पात्रोको प्रयोग गर्न समितिले आम मानिसमा आह्वान गरेको छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएको पात्रोका कारण तिथि, मिति, चाड पर्व नमिल्दा समस्या पर्ने गरेकाले आधिकारिक पात्रोको मात्र उपयोग गर्न पनि अध्यक्ष गौतमले अनुरोध गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रोको प्रयोग गर्दा तिथि मिति, चाड पर्वलगायतका बारेमा कुनै भ्रम वा द्विविधाको अवस्था आएमा आफैँ जिम्मेवार हुनुपर्ने जनाइएको छ । समितिको स्वीकृति भएका पात्रोमात्र प्रयोगमा ल्याउँदा कुनै समस्या आएमा त्यसको समाधान सरकारले मनोनयन गरेका विद्वानकाे समूहले गर्ने उनले बताए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.