भीमफेदी-कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने, साढे २ वर्षमा सञ्चालन हुने

  २०७६ माघ ९ गते १८:३१     राजाराम न्यौपाने

काठमाडौं । बागमती प्रदेश सरकारले भीमफेदी-कुलेखानी सुरुङमार्ग बनाउने भएको छ । प्रदेश राजधानी हेटौडा र संघीय राजधानी काठमाडौं जोड्न सुरुङ मार्ग बनाउन लागिएको हो ।

अहिले भीमफेदीबाट कुलेखानी आइपुग्न करिब १६ किलोमिटर छ । सुरुङमार्ग बनिसकेपछि यसको दुरी बढीमा ४ किलोमिटर हुने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । हेटौंडालाई काठमाडौंसगँ जोड्ने सडकखण्डमा भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अग्रसरता देखाएको हो ।

प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दैछ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का लगाउने मन्त्रालयको तयारी छ । याे सुरुङमार्गको अनुमानित लागत १३ अर्ब रूपैयाँ रहेकाे मन्त्रालयकाे भनाइ छ ।

सचिव भट्टले भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम सुरु भएको जानकारी दिए । आगामी चैतसम्ममा डीपीआर तयार गरेर ठेक्का प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

‘डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ, डीपीआर सकिनेबित्तिकै सुरुङमाग निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ,’ सचिव भट्टले भने ।

आगामी आर्थिक वर्षदेखि सुरुङमार्गको निर्माण कार्य शुरु हुने र अढाइ वर्षभित्रमा नै निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य रहेको भट्टले जानकारी दिए ।

काठमाडौं-हेटौडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले लामो समयसम्म केही नगरी परियोजना मात्रै ओघटेपछि प्रदेश सरकारले सो स्थानमा सुरुङमार्ग बनाउन लागेको हो । एनपीबीसीएलले पनि भीमफेदी-कुलेखानी खण्डमा सुरुङ मार्ग नै बनाउने भनेको थियो ।

२०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको नै जुटाउन सकेको छैन । २०६९ सालमा मन्त्रिपरिषदले एनपीबीसीएललाई सुरुङ मार्ग बनाउने अनुमति दिएको थियो ।

तीन तहकै सरकारको लगानी

बागमती प्रदेश सरकारले अघि सारेको अवधारणा अनुसार सो सुरुङ मार्गमा तीन तहकै सरकारको लगानी हुनेछ । सुरुङ मार्ग बनाउन संघीय सरकार, बागमती प्रदेश सरकार र सो क्षेत्रका स्थानीय सरकारले पनि लगानी गर्ने सचिव भट्टले जानकारी दिए ।

सर्भे गर्ने टोली फिल्डमा

प्रदेश सरकारले सुरुङ मार्ग बनाउनको लागि ड्रोन उडाएर स्थलगत अवलोकन गरिसकेको छ । यस्तो अवलोकनबाट बन क्षेत्र, सरकारी सर्वसाधारणको जमिन यकिन गरी अधिग्रहण गर्नुपर्ने जग्गा यकिन हुनेछ । यस्तै, सुरुङ मार्ग बनाउनको लागि सरकारले सर्भेयरलाई फिल्डमा खटाइसकेको सचिव भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.