२०७६ माघ २१ गते १४:४८ विकासन्युज
काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय सम्मेलन आगामी माघ २४ गते गर्दै छ । तथ्यांक परिचालित निर्णय प्रक्रिया (डाटा ड्रिभन डिसिजन मेकिङ) भन्ने मुख्य नारा सहित संघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।
संघले गत वर्षझै यस वर्ष पनि आफ्नो वार्षिक साधारणसभाको अवसरमा उक्त सम्मेलन गर्दै छ । सोही दिन सम्मेलन र वार्षिक साधारण सभा साथै राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान वितरण, कार्यकारी समितिको निर्वाचन र एशियन एसोसियसन अफ म्यानेजमेण्ट अर्गनाईजेशनको एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गर्न लागेको संघले मंगलबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उक्त सम्मलेनमा अर्थमन्त्री डा. युवराज खतिवडाको आतिथ्यमा चार वटा कार्यपत्र प्रस्तुत गरिने संघले जानकारी दिएको छ । त्यस्तै, सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९(म्यानेजमेन्ट डेभलपमेन्ट सिनारियो) नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुँदै छ ।
सोही दिन रहेको संघको ३९औं वार्षिक साधारणसभाले आगामी वर्षको लागि नीति, कार्यक्रम र बजेटको तर्जुमा गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गर्दै छ ।
त्यस्तै, संघले यस वर्ष राष्ट्रिय व्यवस्थापन पुरस्कार अन्तर्गत म्यानेर अफ द एयर अवार्ड, वोमेन म्यानेजर रिकजनाईजेशन अवार्ड, आउटस्ट्याडिङ् म्यानेजमेन्ट अवार्ड, आउटस्ट्याडिङ् सिभिल सर्भिस अवार्ड वितरण गर्दै छ । संघले संस्थाको हितमा काम गर्ने इमान्दार, कर्तव्यनिष्ट, उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मान गर्दै आएको छ ।
साथै, सोही दिन १९औं कार्यकारी समितिको पनि निर्वाचन अन्तर्गत मतदान कार्यक्रम हुँदै छ । उक्त निर्वाचनका लागि गठित समितिले निर्वाचनको कार्यक्रम सार्वजनिक गरिसकेको संघले जानकारी दिएको छ । जुन परिणाम सोहि दिन घोषणा हुनेछ ।
त्यस्तै, संघले एशियाली नेतृत्व सम्मान साँझ एशियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेशनको व्यानरमा एशियाली नेतृत्व पुरस्कार साँझ(एशियन लिडरशीप अवार्ड नाइट) को आयोजना गरी यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने हुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दै छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.