प्रभु इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी एक अर्ब माथि

  २०७६ माघ २४ गते १६:३६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १६.३२ प्रतिशत लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको २४ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश सेयर तथा कर सहित ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश पाउने छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताए ।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउन इन्स्योरेन्सले जोड दिएको उनले बताए ।

हाल कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।