घर जान पाइने भन्ने निर्णयबाट पछि हट्यो सरकार

  २०७६ चैत २७ गते १८:१४     विकासन्युज

काठमाडौं । सरकार काठमाडौंमा रहेकाहरुलाई घर जान दिने भन्ने निर्णयबाट पछि हटेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । तर, त्यसको केही समयपछि पुनः सरकारले सो निर्णय नगरेको भन्दै आएका समाचार गलत भएको जनाएको छ ।

बिहिबार पोखरेलको नेतृत्वमा यातायात व्यवसायीहरु समेत गरेर यसको विषयमा बैठक बसेको थियो । सो बैठकले घर जान दिने भन्ने त निर्णय गर्यो । त्यो निर्णय गरेकाे केहि समयमै सामाजिक सञ्जालमा केही मतभेद आएपछि सरकार सो निर्णयबाट पछि हटेकाे हाे ।

रक्षामन्त्री पोखरले ट्वीट गर्दै भनेका छन्,- ”काठमाडाैं प्रवेश गर्न नपाइने तर काठमाडाैंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ’ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को गंभीर ध्यानाकर्षण भएको छ ।”

यस किसिमको कुनै निर्णय नभएको, कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको छ ।’ यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।

‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।’- उनले ट्वीटमा भनेका छन् ।

तर, याे भन्दा अगाडि सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको बताएका थिए । तर, अहिले नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । मन्त्रीले अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए ।

कोभिड-१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए ।