कोरोना रोकथामकाे लागि सहयोग बढाउँदै नेपाल रेडक्रस, देशभरीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री वितरण  

  २०७७ वैशाख १ गते १८:४०     विकासन्युज

काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् ।

देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट  ३  हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ ।

नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भने- ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ ।’

युवा स्वयंसेवकहरु सक्रिय: १ लाख ४२ हजारमा पुगे

समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको छ ।

भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने- क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

नेरेसोको निशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ ।

विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ ।  कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् ।

युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको र यो “NRCS Social Media Volunteers on COVID-19”    मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका संस्थाले जनाएकाे छ ।

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध

अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने बित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ ।

देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ ।

जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ ।

काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको कन्पार्टमेन्ट नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ ।

शव व्यवस्थापनमा सहयोगः नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा  तथा नेपाली सेनालाई  ५० वटा व्याग दिइएको छ ।
पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ ।

जिल्लाहरुको विशेष सहयोग
भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ ।

निर्देशिकाहरु तयारीः
अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न काेभिड-१९  रेसपाेन्स गाइडलाइन तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि इन्फेक्सन, प्रिभेन्सन एण्ड कन्ट्राेल(आईपीसी) गाइडलाइन तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनस्थापनाको लागि निर्देशिका पनि तयार भएको छ ।