२०७७ वैशाख २ गते १४:३५ विकासन्युज
भारत । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् ।
भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् ।
त्यसैगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (रासस/एएनआई)
Copyright © 2025 Bikash Media Pvt. Ltd.