२०७७ वैशाख १४ गते १६:१४ विकासन्युज
लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् ।
लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् ।
प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात विताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो ।
सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।
कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा सो भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ ।
बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । रासस–एएनआई
Copyright © 2025 Bikash Media Pvt. Ltd.