२०७७ वैशाख २६ गते ११:२६ विकासन्युज
काठमाडौं । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला बिहीबर (एकै दिन) ६ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण बढेसँगै एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाए । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९ हजार १ सय ९० नाघिसकेको छ ।
हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट १ लाख ३५ हजार ७ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।
ब्राजिलका राष्ट्रपतिले दिए चेतावनी
राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ ।
अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए । विज्ञहरूले ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।
तर अझै पनि राष्ट्रपति बोल्सोनारुले व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्ध आफूलाई प्रस्तुत गर्दै आएका छन्। जोखिममा रहेका समूहहरूलाई मात्रै क्वारन्टीनमा राख्नुपर्ने र बाँकी सबैलाई काममा फर्कन दिनुपर्नेमा पक्षमा उनी छन्।
सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या तीव्र गतिमा बढिरहँदा र न्यून सङ्ख्यामा परीक्षण भइरहेकोले स्थिति भयावह हुन सक्ने चिन्ताबीच राष्ट्रपतिले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लागिरहेको छ । (बीबीसीकाे सहयाेगमा)
Copyright © 2025 Bikash Media Pvt. Ltd.