२०७७ वैशाख ३१ गते १०:०४ भुवन अर्याल (कपिल)
एकैछिन सोच्नुहोस्, कल्पना गर्नुहोस्ः एउटा घरको । अझ झनै राम्रो आफ्नै भए त । आत्मीयपन र सद्भाव राखेर केही पाहुनालाई घरमा बोलाउनु भयो । आदर सम्मान दिनुभयो । आफुसँग जे छ त्यो सकेको खान दिनुभयो । आखाँ बन्द गरेर विश्वास गर्नुभयो । घरका सबै कोठाहरु खोलिदिनु भयो । कुनै रोकतोक, बन्देज लगाउनुभएन । हजुर त पूर्ण विश्वत हुनुहुन्थ्यो पाहुनाको आचरण माथि । हजुर जस्तै गरेर त्यो घर पनि पाहुनाले आफ्नै ठान्नेछ भनेर ।
तर बिडम्बना त्यसो हुन सकेन । हजुरको अतिथि सत्कारलाई हजुरको कमजोरि सम्झियो । आत्मीयपन र सद्भावलाई हजुरको दायित्व सम्झियो । जस्तोकी बच्चा जन्माएपछि आमाले हुर्काउनै पर्छ बिना सर्त । जुन विश्वास र स्वतन्त्रता दिनुभएको थियो त्यस्को कत्ति पनि सदूपयोग गर्न सकेन । उल्टै उन्मुक्त बन्यो, उदण्ड मच्चायो । घरको भान्सा, भण्डार छिर्यो । सकेको खायो अनि नसकेको फालिदियो तर कहिल्यै बाँडेन । बिस्तारै सारा घर मेरो हो भन्दै मनपरि गर्न थाल्यो ।
सुरु-सुरुमा त हजुर पनि नदेखेझैँ मौन बसिदिनु भयो । हजुरको मौनताको नाजायज फाईदा पहुनाले उठाउन थाल्यो । अब हजुरको धैर्यतालाई, मौनतालाई पाहुनाको दुस्कर्म, दुरव्यवहारले चुनौति दिन थालेपछि हजुर के गर्नु हुन्छ भन्नुहोस् त ?
हो यस्तै हुँदैछ । हामीले हामीहरु पृथ्वीका, सृष्टिका, प्रकृतिका पाहुना हौं भन्ने बुझ्न नसक्दा, आत्मसात गर्न नसक्दा अनि मान्छे भएरै पनि सभ्य हुन नसक्दा दूर्दशा भोग्नु परेको छ । यहि रिति यस्तै अझ चलिरहे र सबै मिलेर बिचार नगरे बिकराल परिस्थितिहरुको सामना बारम्बार गरिरहनु पर्नेछ ।
सर्वाेत्कृष्ट, चेतनशील प्राणी भन्दै हामीले प्रमुख प्रकृति अनि यसका अरु सृष्टि, सन्तति माथि अत्याचार गरिरह्यौ । आज हाम्रै व्यवहारको फल पाउदैछौं । पृथ्वीलाई यति तातो र आक्रोशित बनाइदियौ कि आमा भएर पनि आफ्नै सन्तान विरुद्ध संघर्ष गर्नुपरेको छ । सन्तानले त घर सजाउँछ, श्रृङ्गार्छ, बलियो पार्छ तर हामी कस्ता सन्तान भयौ भनेर कहिले सोच्ने ? सबैले आत्म मूल्यांकन गर्नुपर्छ । जसरी सबै सन्तान आमाका प्यारा हुन्छन्, आशाका पात्र हुन्छन्, महत्वपूर्ण हुन्छन् । त्यसरी नै हरेक जीवजीवात्मा प्रकृतिका प्यारा अनि महत्वपूर्ण हुन्छन् र हरेक सँग गाँसिएको छ । धरतीको खुशीयाली, भविष्य, सम्पन्नता । एकले गरे के हुन्छ होइन, एकबाटै सुरु हुन्छ भन्ने सोच्ने की ?
अब वर्तमान नियालौं । सन् २०१९ डिसेम्वरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना संक्रमित बिरामीहरु भेटिएका थिए । त्यसपछि विस्तारै चीनबाट अरु राष्ट्र हुँदै फैलिएको यस महामारिले विश्व सारा आक्रान्त पारेको छ । कतिले आफ्ना मान्छे गुमाए भने कति अझै अस्पतालका शैय्याहरुमा जीवन-मृत्युबीच लडिरहेका छन् । कति रोगभन्दा पनि बढि फैलिनै हल्लाहरु सुनेर डराइरहेका छन् । यस्तो परिस्थितिमा कतिभने अबुझ जस्तै परिस्थितिको गम्भीरतालाई हल्लाको संज्ञा दिईरहेका छन् । खैरः मान्छेका प्रवृत्तिहरु, जे भएपनि मान्छेहरु पिडामा छन् । जीन्दगी रोकिएको छ । आफ्नोले आफ्नै भेट्न, देख्न र छुन पाएका छैनन् ।
समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन ।
दैनिक काेराेना संक्रमितकाे संख्या बढ्दाे छ । मृत्यु हुनेकाे संख्या पनि बढ्दाे छ । प्रयाप्त जाँच हुन सकेकाे छैन । कोरोना भाइरस विरुद्ध आजसम्म पनि कुनै प्रभावकारी उपचार नभेटिएको हुँदा संक्रमित संख्याहरु र यस्का नकारात्मक प्रभावहरु अझै बढ्ने अनुमान सजिलै गर्न सकिन्छ ।
संसारमा सम्पन्न र गुणस्तरीय जीवन बाँच्ने भनेर प्रख्यात भई रहेका राष्ट्रहरु नै आज यस भाइरसको चपेटामा परेको देखिन्छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मन, ब्रिटेन आदि देशहरुले अहिले ठूलो धनजनको क्षति व्यहोरिरहेका छन् । यद्यपि कोरोना भाइरस चीनमा सुरु भएको थियो । चीनको सरकार र जनताको आपसी अथक प्रयासले भने आजको मितिसम्म तथ्यांक हेरेर मूल्यांकन गर्दा अकल्पनिय नियन्त्रण पाउन सकेको देखिन्छ । यस्तै दक्षिण कोरिया, ताइवान जस्ता देशहरुले पनि समयमै उच्च सर्तकता अपनाएको कारण ठूलो मात्रामा पर्ने क्षतिबाट देश र देशबासीहरुलाई बचाएका छन् ।
समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन ।
नेपालमा पनि संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दाे छ । भलै अहिलेसम्म नेपाल भित्र काेराेनाकाे कारण नेपालीकाे मृत्यु भएकाे खवर सुन्नु परेकाे छैन । साथसाथै हाल सरकारले गरेको स्वतन्त्र हिडँडुल अनि भेटभाटमा रोकले पनि कोरोना संक्रमण केहि हदसम्म कम हुने आशा गर्न सकिन्छ । हरेक स्थानीय स्तरहरु पनि यस संक्रमण र यसले पार्ने असरप्रति सचेत भई केहि पूर्व तयारीहरु गरिरहेको देखिन्छ । समस्याको बखत् सरकार एक्लैले सबै नागरिकहरुको जीन्दगी छुन नसक्ने, हेरचाह गर्न नसक्ने हुँदा सम्पूर्ण नेपालीहरुले एकआपसमा हातेमालो र साथ सहयोग गर्दै अघि बढ्नु जरुरी छ । अझ नेपालजस्तो देशमा जहाँ जनसंख्याको ठूलो हिस्सा दैनिक ज्याला मजदूरीमा निर्भर रहेको छ, त्यहाँ सहयोग गर्ने हैसियत भएकाले कुनै प्रसिद्धीको लोभमा नपरी मानवियताको आधारमा एकअर्कालाई आफू सक्दो सहयोग गर्नुपर्ने देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण लाग्ने कोभिड-१९ एक सरुवा रोग हो । कोभिड–१९ संक्रमितमा ज्वरो, थकान र सुख्खा खोकी देखिनुका साथै केहिमा शरिर दुख्ने, नाक बन्द हुने, रुघा लाग्ने, घाँटी सुन्निने अनि पखला लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । करिब ८० प्रतिशत संक्रमितहरु कुनै विशेष उपचार बिना नै सामान्य सर्तकताकै भरमा पनि स्वस्थ हुन सक्ने बताउँछन् चिकित्सकहरु । यस भाइरसबाट संक्रमित करिब ६ जनामध्ये एक जनालाई भने गम्भीर बनाउने, श्वासप्रश्वासमा असहज बनाउने गर्दछ । विशेषत बृद्धवृद्धा अनि उच्च रक्तचाप, मधुमेह र मुटुका रोगीहरुलाई कोभिड–१९ ले धेरै असर गर्ने गर्दछ ।
कोभिड–१९ एक सरुवा रोग भएकाले अनि एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास प्रणालीको मार्फत सर्ने भएकाले हामीले हाम्रो दैनिक जीन्दगीमा उच्चतम सर्तकता अपनाउनु अत्यन्त जरुरी छ । सर्तक रहेर, सचेत रहेर नै हरेक नागरिकले यो विषम परिस्थितिमा सरकार तथा स्थानीय निकायलाई यो रोेग नियन्त्रणमा योगदान दिन सक्दछन् । एक आपसमा सकेको दूरी कायम गर्ने करिब १.५ मिटर गरे झनै राम्रो, समय समयमा राम्रोसँग करिव २० सेकेन्ड वा बढी साबुन पानीले हात धुने, सन्तुलित भोजन गर्ने, करिब ८ घण्टा सुत्ने अनि केहि आफूसक्दो शारीरिक कसरतहरु गर्ने गर्नाले यस रोगको जोखिमबाट बच्न सकिन्छ । यस परिस्थितिमा एक व्यक्ति बच्नु भनेको अरुलाई बचाउनु पनि हो भन्ने बुझनु एकदम जरुरी छ । स्वस्थ व्यक्तिमा मात्रै स्वस्थ सोचको विकास हुने भएकाले कोरोना भाइसले घरमै रोकिदिएको हाम्रो जीन्दगीलाई कीन नयाँ सुरुवात नदिने त ? रोगलाई समस्याको रुपमा मात्रै हेर्नु भयाे भने रोगले भन्दा पहिले डर, त्रास अनि मानसिक चिन्ताले कमजोर परिने हुँदा सकारात्मक सोच राख्नु पनि अत्यन्त जरुरी छ ।
कोभिड-१९ रोगका कारण कति निर्दोष मानिसले असामायिक रुपमै आफ्नो ज्यान त गुमाउनु पर्यो र आजसम्म पनि गुमाइरहनु परेको छ । जो एक बिडम्बना हो तर यहि संक्रमणका कारण आज हामीमा दबिरहेको मानवियता पनि जगाइदिएको महशुस हुन्छ । नेपाल लगायत संसारैभरि धेरै मानिसहरुले व्यक्तिगत तवरबाटै आफूसक्दो दिनरात मानवसेवा गरिरहेको पढ्न, देख्न पाउनु पक्कै पनि आशा लाग्दो भविष्यको शुरुवात हो । तर केहि मानिस भने महामारीको गलत फाइदा उठाउँदै मंहगी बढाउने, क्षणिक प्रसिद्धिका लागि सेवा गरेजस्तो गर्ने गरिरहेका छन् । तिनले एकपटक आत्मबोध गर्ने की ?
कसैले भनेको सम्झिन्छु, “पृथ्वी पनि शरिर जस्तै हो । शरिरको कुनै एक अंगमा भाउ खटिरा भयो भने पूरै शरिर दुख्छ, ज्वरो आउँछ ।” हो आजको विश्वले, यसका राजनीतिज्ञले अब समस्त नागरिकहरुले यो बुझ्नु जरुरी छ । अब आफ्नो देश, सीमा, भूगोलबाट माथि उठेर सोच्ने समय आएको छ । रोग, संक्रमण र दैवी प्रकोपहरु आज विश्व धुर्विकरणतर्फ अघि बढेका समस्त राष्ट्रहरुलाई एक चुनौति हो । चुनौति यस अर्थमाकी महामारीको नियन्त्रण गर्नु, निवारण गर्नु निक्कै नै जटिल काम हो । तर चुनौतिले अवसर दिन्छ भनेझैं यदि सबै राष्ट्रहरु मिलेर हातेमालो गर्ने हो भन्ने असम्भव पक्कै छैन । सबै राष्ट्र मिल्नु, सबै विश्व नै आफ्नो हो भन्ने अपनत्वको भावना बढ्नु, भाइचारा बढ्नु पक्कै पनि सकारात्मक परिवर्तन हो ।
सुनसान न्यूयाेर्क शहर
चुनौतिकै कुरा गरिरहँदा अब एकछिन कोरोना भाइरसले विश्वलाई दिईरहेको र दिने चुनौतिहरु हेराैं । हाल विश्व समूदायका एकदमै व्यस्त र व्यापारिक केन्द्र मानिएका प्रायः सबै शहरहरु उद्योग, कलकारखानाहरु साथै स-साना घरेलु व्यवसाय या व्यक्तिकै पनि आफ्नो निजी जीन्दगीहरु ठप्प छन् । विश्व समूदायको ध्यान अहिले कोरोना भाइरस, यसको संक्रमित र यसको संक्रमणको जोखिम नियन्त्रणमा गएपनि उचित तयारीको अभावमा प्रायः धेरै मुलुकहरुकलाई निकै समस्या परेको छ ।
संसारका धेरै देश तथा विश्वविद्यालय अन्तरगतका विज्ञहरुले कोरोना भाइरस विरुद्धको औषधी उपचार, खोप आदि खोजिरहे पनि अझै ठोस् नतिजासम्म पुग्न सकेका छैनन् । यसले संक्रमितको उपचारमा त समस्या भयो नै अझ नयाँ संक्रमण रोक्न पनि असमर्थ बनाएको छ । दैनिक बढिरहने संक्रमितकोे संख्या स्वास्थ्यकर्मी तथा अस्पतालले थेग्न सक्ने भन्दा अत्याधिक भएकाले बिरामीले उचित, अति आवश्यक हेरचाह पाइरहेका छैनन् । अवस्था यस्तो पनि छ, उचित उपकरण र प्रविधिको अभावमा स्वयम् चिकित्सक तथा अन्य स्वास्थ्य कार्यकर्ताहरुले समेत आफ्नो जीन्दगी गुमाइरहेका छन् । यहि क्रम कहिलेसम्म चल्ने हो भन्नेमा पनि प्रायः सबै अनविज्ञ छन् ।
आजको विश्वमा आर्थिक पाटो हाम्रो जीन्दगीको अभिन्न अंग बनिसकेको छ । महामारीको नियन्त्रणका लागि चलिरहेको बन्द रोकले प्रायः सबै देशको अर्थव्यवस्थालाई विक्षिप्त पारेको छ । अनि अझै दूर भविष्यसम्म पारिरहने देखिन्छ । नेपाल लगायत विश्वका सबै मुलुकमा करोडौं मान्छेले आफ्नो रोजगार गुमाएका छन् । व्यापार व्यवसाय बन्द गरेर बस्नु परेको छ । यस्ले वर्तमान जीन्दगीमा त असर पारेको छ नै अब कस्तो भविष्य हुने हो भन्नेमा प्रश्न खडा गरिदिएको छ ।
सम्पन्न मुलुकहरुले त आफ्ना नागरिकहरुलाई केहि सजिलो होस् भन्नका लागि केहि रुपैयाँ पैसा ऋण तथा अनुदान स्वरुप दिने प्रतिबद्धता जनाइसकेका छन् । तर जो विपन्न मूलुक छन् तिनीहरुलाई अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पनि जुटाउन हम्मेहम्मे छ, अरु नै मुलुकहरुको भर पर्नु परेको छ ।
विज्ञहरु कोरोना भाइरसले खडा गरिदिएको समस्या र यसले पार्ने असर प्रति आ-आफ्नो विचारहरु दिइरहेका छन् । सबैका विचार बुझ्ने हो भने अब आर्थिक कारणले गर्दा नै विश्वको शक्ति सन्तुलनमा पारम्पारिक भन्दा केहि नयाँ परिवर्तन देखिनेछ । जसरी चीनले कोरोना महामारिलाई आफ्नो देशमा नियन्त्रणमा लिदैछ । साथसाथै विपन्न र सम्पन्न मुलुकहरुलाई पनि नियन्त्रणमा आवश्यक सामाग्री तथा चिकित्सक उपलब्ध गराइरहेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा चीनको शासन प्रणाली र यसले लिन चाहेको अभिभावकत्वमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । अमेरिका, यूरोप, जति पनि शक्तिकेन्द्र मानिएका मुलुकहरु आज कोरोना संक्रमणले हालबेहाल भइरहदाँ चीनले देखाइरहेको उदारता राजनीतिक दृष्टिले नहेरि मानवियताका आधारमा हेर्ने हो भने त पक्कै पनि प्रशंसनीय छ ।
अब नेपाल नियालौ । उसो त कोरोना संक्रमण भन्दा पहिले नै हाम्रो देशको आर्थिक प्रणाली, अर्थ व्यवस्थाले निकै चुनौतिहरु भोग्दै आएको छ । देशको ठूलो हिस्सा निजी व्यापार, व्यवसाय, पर्यटन र दैनिक ज्याला मजदूरीमा निर्भर रहेको हुँदा अझै अहिलेको विषम परिस्थितिले पक्कै पनि ठूलो नोक्शान पुर्याउने छ । पर्यटन व्यवसाय जो हाम्रो अर्थतन्त्रको एउटा मुख्य आधार स्तम्भ थियो आज त्यहि शून्य सरह छ । अब अझै देशमा आर्थिक संकट पर्नुका साथै विदेशीएका नेपालीको कमाइमा निर्भर रहनु पर्ने अवस्था देखिन्छ । त्यसैले संकटको समयमा र संकट पछि पनि नेपालीहरु एकजुट भएर सरकारमात्र नभनी स्थानिय स्तरमै आ–आफ्नो सीप र क्षमताले जानेका घरेलु व्यवसाय, पशुपालन र आधुनिक कृषितिर अग्रसर हुन जरुरी छ ।
महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् ।
विश्व बजार नै ठप्प हुँदा अर्थ, रोजगार, औषधि उपचार भन्दा पनि ठूलो चुनौति खाद्यान्नको हुनेछ । महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् ।
युवापुस्ताहरुले आफू वरिपरिका असाहय, अशक्त, बृद्ध, विरामीहरुलाई आजको यस संकटको बखत् हेरचाह गर्नुपर्दछ । सम्पन्न वर्गहरुले आफू र आफ्नो परिवार मात्रै सोचेर आवश्यक भन्दा धैरै खाद्यान्न भण्डार गरिदिए बजारमा पक्कै अभाव सिर्जना हुन्छ, मँहगी बढ्छ । त्यसैले थोरै मानविय संवेदना देखाउनु पनि जरुरी छ । आफ्नो लागि जोहा त जनावरले पनि गर्छ । मान्छे भएर संवेदनशील हृदय भएन भने त ? हृदय पनि विशाल हुनुपर्यो आफ्ना पराई सबै अट्ने, एकै देख्ने ।
बन्दको जीन्दगी प्रविधिले भने केहि सहज अवश्य बनाएको छ । दिनभर भागदौड, कामकाजको व्यस्त जीन्दगीबाट अचानक एकै ठाउँमा असामाजिक जीवन जीउनु पक्कै पनि मान्छेको स्वभाव विपरित छ, सजिलो छैन । समयको माग नै यस्तै छ । तर प्रविधिहरु पनि आवश्यक भन्दा धेरै प्रयोग गरे फेरि यसले पार्ने नकारात्मक असरहरु नकार्न सकिन्न ।
यस्तो महामारी र संत्रासको अवस्थामा सरकारलाई सहयोग गर्नुपनि हाम्रो कर्तव्य हुन आउँछ । महामारीले डर, त्रास फैलाउने हुँदा डराएको अवस्थामा सुनेका सबै खबरहरु झुठै भएपनि हामी सजिलै विश्वास गरिदिन्छौ । तसर्थ विश्वासिलाे संचार माध्यमले दिएका समाचार, खबरहरु हेर्ने, पढ्ने गरेर डर त्रास नियन्त्रणमा मद्दत गर्न सकिन्छ । स्वास्थ विशेषकहरुले बताएका रोकथामका उपायहरु गम्भिर रुपले पालना गर्ने, अरुमा सचेतना फैलाउने, यदि कोभिड–१९ सँग मिल्ने लक्षण आफूमा देखिए सम्बन्धित स्वास्थ्य निकायमा सम्पर्क गर्ने, संक्रमणका जोखिम नागरिकहरु कम्तिमा पनि १४ दिनसम्म लगातार स्वास्थ्यकर्मीको निरक्षणमा रहने आदि गर्नुपर्दछ ।
घरमा बस्दा एक व्यक्तिले कसरी आफू र आफ्नो परिवारको उचित ख्याल गर्नेबारे केही बताउन मन लाग्यो । मानिस शारिरीक र मानसिक दुवै तवरले स्वास्थ्य हुन जरुरी छ । तसर्थ दैनिक स्वास्थ दिनचर्या अपनाउने गर्नुपर्दछ । खाद्य संकट नजिकिदै गर्दा खाद्यान्नको उचित प्रयोग गर्नु, थोरै तर सन्तुलित भोजन खानु एकदम महत्वपूर्ण छ । त्यस्तै बिजुलीबत्ती, पानी जस्ता अत्यावश्यक बस्तु तथा सेवाहरू सकेसम्म बचत गर्नु राम्राे हुन्छ ।
हिजो प्रायः घरबाहिर व्यस्त जीन्दगीलाई आज परिस्थितिले घर परिवारसँग बस्ने अवसर दिएको छ । त्यसैले यो समयलाई आत्मीय बनाउने, एकअर्कालाई अझ राम्रोसंग चिन्ने, बुझ्ने गरेर सदुपयोग गरौ । परिवार हुनेले परिवारसँग वा एक्लै हुनेले एक्लै आफ्नो शारिरको ख्याल गर्ने गराैं । व्यक्तिका आ-आफ्ना पनि व्यक्तिगत चाहना हुन्छन् । जस्तै कि किताब पढ्ने, गीत सुन्ने, गाउँने आदि । यस्ता चाहनाहरु पनि यहि बन्दको समयमा पूरा गरेर खुशीले बाँच्न सकिन्छ । यस्ले व्यक्तिलाई आफू र आफ्नो परिवारलाई खुशी राख्न मद्दत गर्नुका साथै महामारीले दिने मानसिक डर त्रास पनि बिर्सन सहयोग गर्छ ।
वनजंगल फडानीकाे विकराल रूप
प्रकृति विद्हरुका अनुसार कोरोना महामारी प्रकृतिको पुकार पनि हो भनेर बुझ्ने समय भएको छ । हामीले मान्छे भएकै आधारमा हाम्रो जीन्दगी मात्रै महत्वपूर्ण सम्झियौं । अरु सबै जीवजीवात्मा, बोटविरुवा हाम्रै खातिर हुन्, हाम्रा भोगचालनका लागि भनेर मनोमानी गरिरह्यौ । प्रकृतिक स्रोत साधनहरुको धेरै नै दुरुपयोग गर्यौ । अझ प्रकृतिले, धरतिले दैनिक दिने नयाँ जीन्दगी भन्दा धेरै हामीले नष्ट गरिदियौं । प्रकृतिको सन्तुलन नै बिगारिदियौं । अझैपनि अन्जान बनेर वा अरुलाई दोष दिएर बसिरहे फेरि यस्तै माहामारी अरु अन्य पनि सामाना गर्नुपर्ने छ । हाम्रो पुरै अस्तित्व नै संकटमा पर्ने देखिन्छ । अब हरेक नागरिकले जिम्मेवार बनेर प्राकृतिक स्रोत साधनको प्रयोग गर्नु जरुरी छ । जस्तो कि हामी खोलाबाट, नदिबाट ढुङ्गा, बालुवा झिकेर बलिया घर त बनाउँछौं । तर नदिलाई बाँध बनाउदैनौ अनि पछि त्यहि नदि आएर हाम्रो घर बगाइदिन्छ । हामीले कहिल्यै दुरदृष्टि राखेनौ, कहिल्यै प्रकृति, धरतीको सोचेनौं । सधैँ प्रकृतिबाट एकोहोरो लुटिरह्यौ, बिना सोच बिचार । कतै परिजीवि हामी त होइनौ ? अब केहि प्रकृतिलाई दिने पनि कि ?
देश, सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था त अग्रसर हुन जरुरी नै छ । तर अब हरेक नागरिक व्यक्तिगत स्तरबाट आफू पनि सृष्टिको एक अभिन्न अंग हो र मैले पनि प्रकृतिकै भोगचालन गरिरहेको छु भन्ने बुझ्नु अनि सोहि अनुसारको वातावरणमैत्री आचरण गर्नु जरुरी छ । अब हरेक घरले अर्थप्रेमी सन्तान होइन, प्रकृतिप्रेमी, माटोप्रेमी, बालबालिका हुर्काउनु पर्दछ । हरेक विद्यालयले ‘क, ख’ अघि माटो पढाउनु पर्दछ । बच्चाले आमा बा पछि माटो भन्न जानोस् । माटोलाई माया गरोस, आफ्नै बाआमा जत्तिकै । हरेक बिहान सूर्य नमस्कार गरे जस्तै धरती, प्रकृति, माटो नमस्कार पनि अब हाम्रो नित्यकर्ममा जोडिनु पर्यो । हरेक मान्छेमा मान्छे मात्र नभई अरु जीन्दगीहरु, पशुपंक्षी, वनस्पति सबैको समान महत्व छ भन्ने चेतना जगाउनु पर्यो ।
अन्त्यमा अरुको आश गर्न र अरुलाई दोष देखाउन धेरै सजिलो छ । अब आफै भित्रबाट उठ्नु पर्यो । आफ्नो आचरण, व्यवहार सुधार गर्नुपर्यो । हामी कस्तो कसरी धरतीको, प्रकृतिको भोगचलन गर्ने, अनि कस्तो धरती हस्तान्तरण गर्ने भावी पुस्तालाई सबै हाम्रै हातमा छ । पृथ्वी हाम्रो समयको लागि मात्र होइन । यो त अरबौ वर्ष देखि छ र रहिरहनेछ, जस्तो अवस्थामा भएपनि । तर अब पृथ्वी बस्न योग्य र हरियाली बनाउने कि अझै यहि व्यवहार दोहोर्याएर प्रदूषित बनाउने ? हाम्रो आजको व्यवहारले निर्धारण गर्दछ भोलिको प्रकृति र धरतिको भविष्य । वातवरण मैत्री व्यवहार गरौं, गर्ने चेतना फैलाऔं । जे प्रकृतिले दिएको छ उचित प्रयोग र सम्मान गरौं, आभारि बनौं । अरु जीवजीवात्माहरु पनि हाम्रै सृष्टि र प्रकृतिको अभिन्न अंग हुन भन्ने बुझौं, सोहि अनुरुप व्यवहार गरौं । हामी प्रकृतिले, सुष्टिले झैं कसैलाई जीन्दगी, प्राण त दिन सक्दैनौ तर हाम्रो आचरण र व्यवहारले प्रकृति र यस्को सृष्टिमा बस्ने हरेकको जीन्दगी भने अवश्य सहज अनि आनन्दित बनाउन सक्दछौं ।
फेरिपनि एक स्वस्थ व्यक्तिले एक स्वस्थ घरपरिवार र समाज निर्माण गर्न सक्दछ । स्वस्थ जीन्दगी र जीवनशैली यो कोरोना भाइरस संक्रमणको महामारिमा मात्र नभई अरुपनि हजारौँ रोगसँग लड्ने हतियार भएको हुँदा स्वस्थ जीवनयापन गरौँ । स्वस्थ आचरण, स्वस्थ सोच अनि सन्तुष्ट मनले नै मान्छेलाई मान्छे हुनुको सार्थकता प्रदान गर्दछ । यस्तो महामारीमा लापरवाही गरेर, संक्रमणबाट बच्ने उपायहरुको बेवास्ता गरेर फेरि अर्को कोरोना संक्रमित भई किन सरकार र स्वास्थ्यकर्मीहरुको लागि भार बन्ने त ? आखिर हामी मान्छे हौ, चेतनशील प्राणी, चेतनशील बनौँ ।
सहयोग सामाग्रीः
केहि तथ्याङ्कहरु Worldometers.info र WHO को आधिकारीक वेवसाइटबाट लिएको छु ।
नवलपुर, नेपाल
हालः जर्मनी
Copyright © 2025 Bikash Media Pvt. Ltd.