काेराेना स‌ंक्रमितकाे गुहारः मर्नु अगाडि जन्मेको माटोमा खुट्टा टेक्न मन छ

  २०७७ वैशाख ३१ गते १६:२०     सुनिता पुडासैनी

काठमाडौं । मान्छे जिउन जन्मन्छ वा मर्न ? केही अपवादबाहेक मान्छे यसमा अनुत्तरित बन्छ । एउटा मानिसलाई बाँच्ने सामथ्र्य र प्रेरणा स–साना खुसीले दिन्छ । कहिले काहिँ अपवादबाट गुज्रिँदा उसले मृत्युको बाटो पनि रोज्छ ।

जव मानिस खुसी मुद्रामा हुन्छ । उसले हरेक कुराहरु बिर्सन्छ अर्थात उसको त्यो ओठको खुसी नै सब थोक बन्छ । अनि रोदनमा ? जब मानिस पिडा अर्थात दु.खमा हुन्छ । उसले सब थोक सम्झन्छ । दु.ख केहो ? सुख के हो ? आफ्ना को हुन् ? बिराना को हुन् ?यी सबै कुरा मनमा खेलाएर बस्छ ।

तर, त्यति हुँदा हुँदै पनि जव उसको अगाडि कुनै विकल्प नै हुँदैन । उसले के गर्छ होला ? कसरी आफुलाई सम्हाल्छ होला ? सायद उसले आफु जन्मनुलाई संयोग मान्छ होला । तर, मर्ने निश्चित ठान्छ । निश्चित हुने कुरासँग मान्छे यति बिघ्न आखिर किन डराउँछ ?

गीतकार तथा लेखक प्रा.डा. कृष्णहरि बरालले गीतमार्फत भनेका छन् , ‘मर्ने कसैको रहर हुँदैन, तर नमरेको शहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन ।’ बरालको यी शब्दहरुले हरेक मानिसको रोदन दु.ख र पिडा बोलेको छ । यस्तै अवस्था अहिले काेराेनाले सिर्जना गरेकाे छ ।

केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा नियाँल्दै थिएँ । यी आँखा एक्कासी एउटा स्टाटसमा अडिए । जहाँ लेखिएको थियो, ‘म दुवईमा छु । कोरोना भाइरस पोजेटिभ भएर कोठामा बसेको आज २४ दिन भैसक्यो । कम्पनीले खुलेआम छोडेको छ । एउटै फ्ल्याटमा सय जनाभन्दा बढी छौं । हामीलाई निको हुन्छ भन्ने आश त खासै छैन । तर, मर्नु अगाडि एक पटक जन्मेको माटोमा खुट्टा टेक्न चाहन्छु । कसरी होला ?’

यो पीडा र विलौना मिश्रीत स्टाटस थियो कैलालीका बिपन खनालको । उनकाे त्याे स्टाटसबाट म भावुक बने । ती युवाले पठाएको रेमिट्यान्समा रजाइँ गर्ने, त्यही रेमिट्यान्सलाई आधार मानेर देशको आर्थिक वृद्धिदर प्रक्षेपण गर्ने नेपाल सरकारले अहिले उनीहरुको पिडा र दु.खलाई किन बुझ्न सक्दैन ? यो प्रश्न मेरो मनमा खेलिरह्याे ।

अझ आफैलाई प्रश्न गरेँ । ती युवालाई ल्याएर देशमा जोखिम बढ्छ नी ? अहँ, फेरि मनले मानेन । अन्य देशले पनि त आफ्ना नागरिक स्वदेश लिनै  रहेको छ । नेपाल सरकारले त्यस्तो व्यवस्था किन गर्न नसकेको ? यी विविध प्रश्नहरु मेरो मनमा उब्जिए ।

तर, सोचेर कहाँ हुँदो रहेछ र सोच्नेले नसोदिएपछि । ती युवकलाई सामाजिक सञ्जालमा नियाँल्दै गएँ । उनीसँग केही बोल्ने मनासाय बनाएँ । मेसेज गरेँ । रिप्लाई आयो । मैले मेरो परिचय दिइसकेपछि उनले आफुले भोग्दै आएका दु.ख पिडा र यथार्थपरक वृतान्त सुनाए । उनको बोलीमा रोदन थियो, आक्रोश थियो र देशमै पाइला टेक्ने ठूलो तृष्णा थियो ।

सुदूरपश्चिमको पहाडी जिल्ला अछामको रामारोशन गाँउपालिका जन्मिएका बिपन सानै छँदा गाँउकै अध्ययन गरे । आजभन्दा ४ वर्ष अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवई हानिएका उनको जीवन यतिसम्म त जसोतसो चलेकै थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भने उनको जीविका मात्र होइन जीवननै दोधारसम्मको अवस्था बनायो ।

दुवईमा कोरोनाको महामारी फैलनुभन्दा अगाडि उनको नेपाल आउने योजना नै थियो । त्यतिखेर खासै असर परेको थिएन दुवईमा । उनले अप्रिल २ तारिकमा नेपाल फर्किनको लागि टिकट पनि लिइसकेका थिए । तर पछि कोरोनाको संक्रमण उच्च भएपछि उनको योजना विफल मात्र भएन आफुनै कोरोनाको भागेदार बने ।

आज उनी कोरोना संक्रमण भएर घरभित्रै बसेको २२ दिन भयो । अहँ, तर निको हुने छाँटकाट छैन । उनी भन्छन्, ‘निको हुन्छु भन्ने आशा त छैन तर मर्नुभन्दा पहिले एक पटक जन्मेको माटोमा खुट्टा टेक्ने ठूलो चाहना छ ।’
उनी त्यो भावुक भनाइसँगै आक्रोश पनि पोख्छन्, ‘संसारनै कोरोनासँग लडिरहेको छ, अरु देशले आफ्ना नागरिकलाई आ–आफ्नो देश फिर्ता लिइरहेका छन्, तर हाम्रो सरकार भने वास्तै गर्दैन, ल्याउँछु–ल्याउँछु भन्छ, त्यतिमै सिमित, काेराेना लागेकालाई नभएपनि अन्यलाई स्वदेश लिनु पर्थ्याे ।’

१९ वर्ष नपुग्दै दुवई हानिएका बिपनले दुवईमै बसेर जिम्मेवार बोध गरे । उनले कैलालीको लम्कि चुहा नगरपालिकामा जग्गा पनि किने अहिले उनको परिवार लुम्बीचुहामै बस्दै आएको छ । दुवईको मेकानिकल कम्पनीमा कार्यरत उनी लगायत ४ जना अन्य नेपालीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनी र अहिले दुवईस्थित जम्लाली कम्पनीको कोठामा बस्दै आएका छन् । उक्त कम्पनीमा करिब ६० जना नेपाली कार्यरत रहेको उनले जानकारी दिए ।

२०६९ सालमा एसएलसी पास गरेका खनालले आईएड र कृषि जेटिए पास गरे । नेपालमा कतै काम नपाएपछि उनले विदेश जाने मनासाय बनाइ विदेशिए । हुन त कमाई गरिरहेकै थिए । आफ्नो कमाइले नै जग्गा किने । घर बनाए । तर, अहिलेको कोरोनाको महामारीले भने उनलाई निकै चिन्तित बनाएको छ ।

कोरोना संक्रमित हुनुपर्ला भन्ने सोचेको थिएन, कोरोना संक्रमण भइसकेपछि पनि लक्षण केही देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य नै छ, तर  परीक्षण रिपोर्ट पोजेटिभ नै देखाएको छ,’ उनले भने ।

उनी भन्छन्,‘मेरा सबै आफन्त र शुभेच्छुकहरुले दिएको हौसला, माया प्रेम र सद्भावले यो कठिन समयमा मलाई हौसला मिलेको छ, आफुलाई बलियो पनि बनाएको छु, कोरोनालाई जितेको बिजय पथमा रमाउने मन छ । म त्यो जितको पर्खामा छु, अझै पनि घर परिवार र देशको चिन्ता लाग्न भने छोडेको छैन ।’