बीमा दिवसः चेतना अभिबृद्धि नै मूल समस्या

  २०७७ जेठ १ गते १७:४८     नबिन पाेखरेल

काठमाडौं । विभिन्न किसिमका जोखिमको आर्थिक रक्षावरण गर्न बीमाले मद्धत गर्छ । पछिल्ला केही वर्षयता बीमाको दायरा र पहुँचमा बृद्धि भएपनि बीमा सम्बन्धि चेतनाको कमी नै मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् ।

बीमा सम्बन्धी पर्याप्त जानकारी नहुँदा अभिकर्ताले प्रभावकारी काम गर्न नसकेको, बिमितले पनि कस्तो जोखिमको रक्षावरण अतिआवश्यक हो भन्ने जानकारी नहुँदा अनावश्यक जोखिमको रक्षावरण गराउने तर आवश्यक पर्ने जोखिमको रक्षावरण नगराउँदा समस्या उत्पन्न भएको छ ।

बिमितले बीमा शुल्क कम गर्न गराउन मात्रै ध्यान दिने र अभिकर्ताले पनि बीमा गराउने वित्तिकै आफ्नो दायित्व पूरा हुने सोच पाल्ने गरेका कारण दाबी भुक्तानीमा समस्या आउने र त्यसले बीमाप्रति नै नकारात्मक धारणा बढ्दै जाने जोखिम छ ।

बीमा विज्ञ भोजराज शर्मा बीमा बारे ज्ञान कम भएको स्वीकार गर्छन् । पछिल्ला केही वर्षयता बीमा बारे जानकारी बढेको भएपनि त्यस्तो जानकारी वा ज्ञान अझै पर्याप्त नभएको शर्माको भनाइ छ ।

‘पछिल्लो समय बीमाको प्रचार–प्रसार पनि राम्रोसँग भएको छ, सर्वसाधारणमा पनि बीमाबारे जानकारी प्राप्त भएको छ, तर यो अझै पर्याप्त छैन, बीमा ज्ञान र जानकारीका विषयमा थप मेहेनत गर्दै जानुपर्ने आवश्यकता छ,’ बीमा विज्ञ शर्माले भने ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमाको मुख्य कुरा भनेको दाबी भुक्तानी हो भन्छन् । बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिए मात्रै बीमाप्रति सर्वसाधारणको विश्वास बढ्ने उनको भनाइ छ ।

‘बीमा सम्बन्धी जानकारी प्राप्त गर्न अहिले खासै कठिन छैन, विभिन्न माध्यमबाट यससम्बन्धी ज्ञान लिन सकिन्छ, तर दाबी भुक्तानी चाडै दिन सक्दा सर्वसाधारणमा यसको महत्व अनुभूत हुन्छ,’ पौडेलले भने ।

जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे पनि बीमा सम्बन्धी जानकारी अझै प्रवाह गर्नुपर्ने बताउँछन् । बीमा सम्बन्धी सामान्य जानकारी पाउन समस्या नभएपनि यसका विभिन्न आयामबारे सन्देश र जानकारी प्रवाह गरिरहनुको विकल्प नभएको अध्यक्ष पाण्डेको भनाइ छ ।

‘बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ, प्रतिस्पर्धाले यससम्बन्धी जानकारी र सन्देश प्रवाहमा पनि बृद्धि गरेको छ, तर यसका अन्य प्राविधिक र व्यवहारिक जानकारी प्रवाहलाई अझै जोड दिनुको विकल्प छैन,’ अध्यक्ष पाण्डेले भने ।

नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा ज्ञानको कमी रहेको स्वीकार गर्छन् । बीमा सम्बन्धी जानकारी र सन्देशहरु निरन्तर प्रवाह गरिरहेको अवस्थामा आवश्यक पर्नेहरुले बीमा गराउने अवस्था आउने अध्यक्ष पाण्डेले बताए ।

‘केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो, अहिलेसम्म धेरै धन वा पैसा हुनेले मात्रै गर्ने विषय हो भने बीमाप्रति बेग्लै प्रकारको धारणा रहेको पाइन्छ, तर बीमा सबैको लागि हो भन्ने सन्देश प्रवाहलाई निरन्तरता दिनुपर्छ, जस्तो कि कृषि तथा पशुबाली बीमामा निरन्तरको प्रयासपछि धेरै किसान यो कार्यक्रममा समेटिएका छन्,’ अध्यक्ष पाण्डेले भने ।

पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी पनि अभिकर्ताले अभिकर्ताको जोडबलमै बीमा भएको तथ्य पेश गर्छन् । बीमा आवश्यक हो, त्यसैले गर्नै पर्छ भन्ने मान्यताले भन्दा पनि अभिकर्ताको जोडबलका कारण बीमा हुने गरेको उनको भनाइ छ ।

‘बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जवर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन्, बीमा बुझेर आवश्यकता महसुस गरी बीमा गराउने भन्दा पनि अभिकर्ताको जोडबलले बीमा गराउनेको संख्या बढी जस्तो देखिन्छ,’ अध्यक्ष तिवारीले भने ।

भोजराज शर्मा, बीमा विज्ञ

बीमा शिक्षामा वृद्धी आएको छ । अभिकर्ताहरुले प्रोडक्टको विषयमा सबैलाई जानकारी दिने क्रममा बीमाबारे आफूले जानेको कुरा भन्नैपर्ने हुन्छ ।

कुनै प्रोडक्ट लिएर बिमित कहाँ जादा अभिकर्ताले सकेसम्म त बीमाका बारेमा सकारात्मक सन्देश नै दिने गर्छन् । त्यस्तै, कहिकतै नचाहिँदा कुरा समेत अभिकर्ताहरुले भनेका हुन सक्छन् ।

जनतामा अहिले बीमा चेतनाको लहर आएको छ । कुनै विशेष प्रोडक्टको बारेमा थाहा नहुन सक्छ । तर, अहिले लकडाउनको अवस्थामा कोरोना बीमा पोलिसी २ हजार बिक्री भइसकेको छ । यसले पनि बीमा ज्ञान बृद्धि हुदै गएको पुष्टी हुन्छ ।

पूर्ण रुपमा बीमा चेतना छाइसकेको छैन । तर अहिले अनलाईन मार्फत बीमा गर्न सकिने भइसकेकोले यसको दायरा फराकिलो बनाउन पनि मद्दत मिलेको छ । हरेक क्षेत्रलाई समेट्ने भएकोले बीमालाई सबैले सुरक्षणका लागि आवश्यकता महसुश गरिसकेका छन् ।

यस्तै, जीवन बीमाको तुलनामा निर्जीवन बीमा अभिकर्ताहरुले बिमितको घर घरमा पुग्नु आवश्यक छ । निर्जीवन बीमा व्यवसाय धेरै जसो उद्योग कलकारखानामा सिमिति रहेको जस्तो पनि देखिन्छ ।

विगतको एक, दुई वर्षको चेतनाको स्तर हेर्दा क्रमिक मात्र होइन अब दु्रत गतीमा बीमा चेतनाको विकास हुने देखिन्छ ।

राजुरमण पौडेल, कार्यकारी निर्देशक बीमा समिति

बीमाको मुख्य कुरा भनेको बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिन सक्नुपर्छ । यसरी दाबी भुक्तानी चाडै दिन सक्दा छिट्टै मानिसहरुलाई बीमाको महत्व थाहा पाउँन मद्दत गर्छ ।

जीवन बीमामा बचत तथा रक्षावरण दुवै हुने गर्छ । थोरै पैसा तिर्दा उच्च जोखिमको रक्षावरण हुन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले बीमा नबुझेको हुन सक्छन् । अर्को भनेको बीमा क्षेत्रका सरोकारवालाहरुले पनि कहीकतै बुझाउँन आवश्यक छ ।

भुकम्पपछि दाबी भुक्तानी पाउँदा सबैलाई बीमा आवश्यक हो भन्ने लागेको थियो । त्यस्तै, राज्यले पनि राष्ट्रिय सम्पत्तीहरुलाई बीमाको दायरामा ल्याउँनु आवश्यक देखिन्छ ।

शिवनाथ पाण्डे, जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत

बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धा बढेसँगै बीमा जानकारी तथा ज्ञान बढेको छ । बीमा भनेको प्राविधिक विषय पनि हो । प्राविधिक विषय भएकोले अण्डर राईटीङ जस्ता विषयमा अभिकर्ताहरुले राम्रो जानकारी पाउँन नसकेको अवस्था पनि हुन सक्छ ।

बीमा ज्ञानको कमी भएकै कारण बीमा क्षेत्रलाई अघि बढ्उन केही समस्या भएको हुन सक्छ । तर सबैतिर नराम्रो भएको छैन । कहिलेकाही कहिकतै बीमा बजारमा कहिले काही जबरजस्ती बीमा बेच्ने गरेको पाइएमा अभिकर्तालाई राम्रो तालिम दिन आवश्यक छ ।

अर्को भनेको जीवन बिमक संघबाट छलफल गरेर हामीले यस्ता समस्याका तत्काल समाधान निकाल्न सक्छौँ । तरपनि कहिकतै आएका घटनामा सबैलाई मुछ्नु भन्दा त्यसबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ ।

दीपप्रकाश पाण्डे, नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत

केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो । अहिले हाम्रोमा आर्थिक रुपमा सबल भएकाहरुले नै बीमा गर्दा आएको पाइन्छ । हो, बीमा गर्नको लागि बीमाशुल्क तिर्न सक्ने क्षमता चाहिन्छ पनि । तर बीमा सबैको लागि आवश्यक छ भन्ने कुरा बुझाउन आवश्यक छ ।

पहिले कृषि बीमामा त्यति आर्कषण थिएन । सरकारले कृषि बीमामा अनुदान दिन थालेपछि आकर्षण बढेको छ । भुकम्पको बेलामा त बाहिरबाट पैसा आयो । त्यति बेला बीमा गर्नेहरुलाई पनि सहज नै भयो । तर, अहिलेको अवस्था भनेको सबै देशलाई एक किसिमको संकट छ । सोही कारण हाम्रो सरकारले पनि बीमा गराउँने वातावरण सिर्जना गर्ने कुरा सोच्न जरुरी छ ।

तीन लाख रुपैयाँ बराबरको घर बीमा गर्न वार्षिक ४ सय रुपैयाँ जति गर्छ । यो कुरा ३ लाखको घर हुनेलाई थाहा नहुन सक्छ । सरकारले यस्ता कुरामा सघाएमा राम्रो हुन्छ ।

आजको दिनमा बीमा बुझ्नेले पनि गरेका छैनन् । त्यसमा आर्थिक पाटो एक ठाउँमा छ । अर्को भनेको पहिले दाबी भुक्तानीमा केही ढिलाई हुने भएकाले बीमा बजारलाई त्यसरी नै हेर्ने पनि छन् । तर, अहिले बीमा कम्पनीहरु सचेत भइसकेका छन् । फोन, भिडीयोले गर्दा अहिले कम्पनीको वित्तीय विवरण हेरेर बीमा गर्न मिल्ने समय आइसकेको छ ।

न्यून आय भएकालाई केही राहत दिएर बीमा क्षेत्रमा समावेश गराउँन सकिन्छ । मुख्य कुरा भनेको बीमा गराउँने बानी बसाउँनुु पनि हो । सरकारले अनुदान दिएमा बीमा क्षेत्रमा राम्रो हुने देखिन्छ ।

जुम्ला जस्तो ठाउँमा हामीले वार्षिक ३ करोडको बीमा गछौँ । यसमा बीमा सम्बन्धि जानकारी तथा सरकारले अनुदान दिएर सम्भव भएको हो । अबको बीमा बजार भनेको सबैले आफूूले हाँसिल गरेको जानकारी अरुलाई समेत दिएर अघि बढ्नु पर्ने बेला आएको छ ।

नन्दप्रसाद तिवारी, पेशागत अभिकर्ता संघका अध्यक्ष

बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जबर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन् । धेरैे जसो अवस्थामा बीमा गर्नेले बीमालाई राम्रैसँग बुझेका पनि पाइन्छ ।

तर, जबर्जस्ती बीमा भिडाउने परिपाटीलाई पूर्णरुपमा निस्तेज पार्न आवश्यक छ । यस्ता क्रियाकलापले बीमाको महत्व ओझेलमा पर्छ ।

बीमा अभिकर्तालाई दिइने तालिम बीमा कम्पनीले होइन, बीमा समितिले दिन आवश्यक छ । कम्पनीहरुले अभिकर्तालाई तालिम दिदा आफ्ना प्रोडक्टमा मात्रै फोकस भएको पाइन्छ ।

डबल बोनस पाउँनु हुन्छ भन्ने लोभ बिमितलाई देखाएर बीमा गर्ने होइन । अभिकर्ताहरुले कुनै बीमा कम्पनीले दिएको निर्देशन अनुसार काम गर्ने हो । तरपनि कहीकतै कुनै अभिकर्ताहरुले गर्ने गल्तीलाई लिएर सबैलाई उस्तै मान्ने गरिन्छ । त्यसरी सबैलाई मुछ्नु राम्रो कुरा होइन ।

बिमितको आवश्यकता अनुसारको बीमा अभिकर्ताहरुले गराई दिएमा बीमाको पहुँच वृद्धीमा सघाउ पुग्ने थियो ।