२०७७ जेठ २ गते १४:१२ संगीता सुवेदी
सिंगो सृष्टिमाथि नै वर्चस्व कायम गर्ने मान्छे आज स्वयं आफै परास्त महसुस गरिरहेको छ । कोभिड –१९ गत सय वर्षको अवधिमा देखिएको सबैभन्दा ठूलो विश्वव्यापी महामारी हो । अनि हाम्रो पुस्ताले भोगको हालसम्मकै तीतो यथार्थ ।
एउटा जीवाणुले मानव सभ्यताले दशकाैं लगाएर निर्माण गरेको जगलाई क्षणभरमै खुकलो बनाएको छ । चीनबाट सुरु भएको यस भाइरसले विश्वका शक्तिशाली राष्ट्रहरुलाई समेत पिडामा धकेलेको छ । समग्र विश्वले नै घुँडा टेकेको छ । । एक दिनमा एक सय जनालाई लाग्यो भने १५ दिनमा पाँच हजार जना संक्रमित हुने तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । कोरोना संक्रमणको गणितिय तथ्यले सबैलाई स्तब्ध तुल्याएको छ
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटको घोषणा गरेको छ । यस्तो घोषणा भएको यो पाँचौ पटक हो । यसको उत्पत्तिको पछाडि बदमासी, षडयन्त्र, प्रविधिगत त्रुटी लगायतका अनुमान सुन्न सकिन्छ । तर सत्य गौण नै छ । यकिनका साथ भन्न सकिने अवस्था छैन । आजका दिनसम्म न त निवारण पत्ता लागेको छ । न अन्तिम विन्दु आँकलन गर्न नै सकिएको छ ।
याे लेख तयार गर्दासम्म विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २२ लाखभन्दा बढी जनसंख्यामा फैलिसकेको छ । पछिल्लो केही महिनामा नै १ लाख ५० हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाइसकेका छन् ।
लेखक
हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमितको संख्या बढ्दै गएकाे छ । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण देखिएबाट नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ । परीक्षणको दायरा बढाएसँगै संक्रमित हुनेहरुको संख्या पनि बढ्दै गएको छ । खुला सीमानाका कारण नेपाल उच्च जोखिममा रहेको तथ्य जगजाहेर नै छ ।
तत्कालको बाटो के ?
पहिलो, कोरोना संक्रमणको फैलावट नियन्त्रण गर्ने । दोस्रो, खाद्य सामाग्री लगायत औषधी र अन्य आधारभूत आवश्यकताको सहज आपूर्तिको व्यवस्था मिलाउने । तेस्रो, सीमा, राजधानी लगायत अन्य सहरहरुमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याउने । विदेशमा रहेका श्रमिक र विद्यार्थी आफ्नो देश फर्कन चाहान्छन् भने त्यसको लागि कार्ययोजना बनाउने । चौथो, लकडाउनको विकल्प खोज्ने ।
नेपालले बन्दाबन्दी अर्थात् लकडाउनलाई कोरोना नियन्त्रणको प्रमुख उपायको रुपमा अपनाएको छ । सरकारले किस्ताकिस्ता गरी लकडाउन बढाएकाे छ । साथै, अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएका छन् ।
कोरोना फैलावट नियन्त्रणको पहिलो कदम लकडाउन हुन सक्छ तर यो नै पूर्ण रणनीति भने होइन । लकडाउनबाट कसरी र कुन अवस्थामा मुलुक निस्कने भन्ने रणनीति सरकारले बनाउन आवश्यक छ ।
कोरोना फैलावट नियन्त्रणको पहिलो कदम लकडाउन हुन सक्छ तर यो नै पूर्ण रणनीति भने होइन । लकडाउनबाट कसरी र कुन अवस्थामा मुलुक निस्कने भन्ने रणनीति सरकारले बनाउन आवश्यक छ । यस्तो बखतमा सबैभन्दा प्रभावित हुने भनेको असंगठितरुपमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिक हुन् । अहिले ज्यालादारी मजदुर, अशक्त लगायत अति विपन्न वर्गका नागरिकको दैनिकी विकराल बन्दै गएको छ । राहत वितरण गर्न पनि अद्यावद्यिक रेकर्ड छैन । नपाउनु पर्नेले पाउने र पाउनुपर्नेहरु छुट्ने हुन सक्छ । लक्षित वर्गको सही पहिचान गर्ने काममा स्थानीय तहका तटस्थ हुन जरुरी छ ।
त्यस्तै कोरोना कहर भित्र मौलाउन सक्ने कालोबजारी लगायतका अनियमिततातर्फ सबै सरोकारवालाहरु चनाखो रहनुपर्छ । यसमा स्थानीय सरकारको दरिलो निगरानी र सुपरिवेक्षण अपरिहार्य छ । कुनै भेगमा खाद्य पदार्थ धेरै भएर खेर गइरहेको अवस्था छ भने कतै खाद्यानको अभाव देखिन थालिसकेको छ । व्यापारीले कृत्रिम अभाव सृजना गर्ने र उपभोक्ताले अनावश्यक संचय गर्ने समस्या देखिएको छ । यसले खाद्य साङ्लो अवरुद्ध हुन सक्ने संकेत गरेको छ । खाद्यन्न माथिको पहुँच , प्रभावकारी भण्डारण र समुचित वितरणको वातावरण सृजना गर्नुपर्ने देखिन्छ ।
२०७२ सालमा गएको भूकम्पको खत अझै पूर्ण रुपमा निको नहुदै नेपाललाई अर्को घाउ थपिएको छ । भूकम्पको समयमा नेपालमात्र समस्यामा परेको थियो । तर अहिले शक्ति राष्ट्रहरुको अर्थतन्त्रलाई समेत गम्भीर धक्का पुगेको छ । यस्तो अवस्थामा सरकारले चोटग्रस्त अर्थतन्त्रलाई सहजै मलम लगाउन हम्मे नै पर्ने छ । १५ औं योजनाले राखेको १०.३ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यमा मात्रै सीमित रहने हुन सक्छ । योजनाका अन्य सूचांकहरु पनि हासिल नहुने आँकलन विज्ञहरुको छ ।
कोरोनाको असरको आयतन र घनत्व अहिले नै पूर्ण यकिन गर्न सक्ने अवस्था छैन । यसको बहुआयामिक असरहरु क्रमशः उजागर हुन थालिसकेका छन् । पर्यटन, यातायत, उद्योग , कृषि, रेमिट्यान्स लगायतका क्षेत्र एकैपटक थलिन लागेका छन् । यसले उत्पादन, आय र रोजगारीमा मन्दी ल्याउने नै भयो । शिक्षा क्षेत्र पनि विचलित हुने अवस्थामा छ । ढिलो-चाडो सबै क्षेत्रहरु यसबाट प्रभावित हुनेछन् ।
वैदेशिक रोजगारीमा पर्न सक्ने प्रभावका कारण विदेशी मुद्रा संचितिमा कमी आउनेछ । औद्योगिक र व्यापारिक गतिविधि सिथिल हुनेछन् । विश्व अर्थतन्त्र नै संकुचित हुँदा नेपाल अछुतो रहने कुरै भएन । अर्थतन्त्रमा पर्ने असर व्यवस्थापन गर्न त्यति सहज नहुन सक्छ । कोरोना र योसँगै आएका अन्य संकट व्यवस्थापन सरकारको लागि चुनौती बनेको छ । तसर्थ दीर्घकालीन रणनीति भने मुलुकको अर्थतन्त्रको नाडी छामेर तय गर्नुपर्ने हुन्छ । अन्य राष्ट्रका सफल अभ्यासबाट पनि केही सिको गर्न सकिन्छ ।
कहरभित्रको अवसर
सबैभन्दा ठूलो अवसर सरकारका लागि छ । दुई-तिहाइको सरकारलाई रचनात्मक शासकीय कला दर्शाउने मौका हो यो । सुशासन ग्ल्यामर गफमा होइन, नागरिक प्रत्याभूतिमा हुन्छ । यसलाई प्रमाणित गर्ने समय हो यो । सरकारले तत्काल र दूरगामी गरी चरणबद्ध रणनीतिहरु अवलम्बन गर्नुपर्छ ।
प्रत्येक कालो बादलभित्र चाँदीको घेरा हुन्छ । समस्यासँगै सम्भावना पनि हुन्छ । कोरोना कहरसंगै पनि अवसरहरु पक्कै आएका छन् । त्यसलाई पहिल्याउन सक्नुपर्छ ।
सबैभन्दा ठूलो अवसर सरकारका लागि छ । दुई-तिहाइको सरकारलाई रचनात्मक शासकीय कला दर्शाउने मौका हो यो । सुशासन ग्ल्यामर गफमा होइन, नागरिक प्रत्याभूतिमा हुन्छ । यसलाई प्रमाणित गर्ने समय हो यो । सरकारले तत्काल र दूरगामी गरी चरणबद्ध रणनीतिहरु अवलम्बन गर्नुपर्छ । फागुनको अन्तिमसम्म केवल २५ प्रतिशत मात्र पूँजीगत बजेट खर्च भएको छ । बाँकी बजेटलाई अर्थपूर्ण तवरले खर्च गर्नुपर्छ । ताकि राज्य, शासन प्रणाली र सरकार प्रतिको विश्वास बझै बढोस् । सरकारले ल्याएका कार्यक्रमप्रति आमनागरिकले अपन्त्वको ग्रहण गरुन् ।
यो सरकारको सामर्थ्यको कद र प्रतिपक्षको उदार दिलको चौडाइ नाप्ने समय पनि हो ।
काम पन्छाउने, प्रकृयामुखी, गोपनीयतामा रमाउने, परिवर्तन विरोधी, असक्षमहरुको समूहको रुपमा नेपालको कर्मचारीतन्त्रको तितो आलोचना भईरहन्छ । यावत् आलोचनाहरुलाई गलत प्रमाणित गर्ने समय हो यो । आफूभित्र मौज्दात रहेको सक्षमता, तटस्थता र नागरिक केन्द्रित व्यहार खर्च गर्ने सही समय आएको छ । कर्मचारीले विषम परिस्थितिमा झन् उर्जावान भई काम गर्न सक्नु पर्छ । योग्यता प्रणालीमा आधारित नेपालको कर्मचारीतन्त्र साच्चै लोकतन्त्रको मेरुदण्ड हो । यो पुष्टि गर्ने यो ठूलो अवसर हो ।
संघीयताको आधार स्तम्भको रुपमा रहेका स्थानीय तहलाई थप सशक्त र उत्तरदायी बनाउने अवसर पनि हो यो । नेपालको संविधान, २०७२ मा संघ, प्रदेश र स्थानीय तहलाई विपदको तीनवटै चरणमा कार्य गर्ने गरी अधिकार दिएको छ ।
त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ ले विपद्को पूर्वतयारी, प्रतिकार्य, खोज, उद्धार र राहत सामाग्रीको भण्डारण, वितरण र समन्वय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । प्राप्त अधिकारलाई स्थानीय तहले हर तवरले पूरा गर्न तल्लीन हुनुपर्छ । संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ (धारा २३२)। यी तिनै तहको राजनीतिक, प्रशासनिक र वित्तिय अन्तरसम्बन्धलाई महामारी व्यवस्थापन गर्ने औजारको रुपमा प्रयोग गर्ने अवसर मिलेको छ राज्यलाई ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी, उद्योगपति, व्यापारी लगायतलाई आफ्नो व्यवसायिक धर्म निर्वाह गर्ने मौका मिलेको छ । नागरिक समाजलाई ‘वाचडग’ र सार्वभौम नागरिकलाई राज्यप्रति बफादार बन्ने सुवर्ण अवसर बन्न सक्छ महामारी ।
यो महामारीकोको प्रमुख असरहरुमा खाद्य संकट रहने धेरैले आँकलन गरिसकेका छन् । वैदेशिक रोजगारबाट फर्केका र अनौपचारिक क्षेत्रबाट च्युत भएकाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ । यसका लागि साना किसानलाई सामूहिक खेती गर्नका लागि सरल कृषि ऋणको व्यवस्था गर्ने जस्ता कार्यका लागि तिनै तहका सरकारहरुबीच यथाशीघ्र समन्वय गरिनुपर्छ ।
संकूचित हुँदै गएको कृषि क्षेत्रमा सक्षम युवाहरुलाई आकर्षित गर्ने रणनीति ल्यानुपर्ने देखिन्छ । कृषि क्षेत्रलाई अर्थतन्त्रको मजबुत खम्बाको रुपमा विकास गर्ने यो सुनौलो अवसर हो ।
सकसको सन्देश
मानव सभ्यता र भौतिक विकासमाथिको नै प्रश्न चिन्ह हो कोभिड-१९ । मानव सभ्यताले विकासको काचुली फेरिरहेको हुन्छ । यसमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा द्वन्द्व, संकट, संघर्ष, प्रतिस्पर्धा जस्ता घटकहरुले ठूलो भूमिका खेलिरहेको हुन्छन् । यिनै विषम परिस्थितिले दिएको संदेशलाई आत्मसाथ गर्नै पर्ने हुन्छ । यदि यसो नहुदो हो त हामी सायद विकासको यो चरणमा आइपुग्ने थिएनौं ।
तसर्थ महामारीको रुपमा मात्र सीमित राख्न हुँदैन कोरोनालाई । यसले दिएको सन्देश सम्पूर्ण मानव जीवनसँग गाँसिएको छ । यो नयाँ जीवन दर्शन व्युताउने युगको प्रारम्भ पनि हुन सक्छ । जसलाई ‘३ प ’ को अवधारणाभित्र राखेर हेर्न सकिन्छ ।
पहिलो, पर्यावरण सरंक्षण । दिनानु दिन पृथ्वीको पर्यावरणीय संकट चुलिदो छ । प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ । भौतिक विकास तीव्र गतिमा छ । पर्यावरण संरक्षण धिमा गतिमा । प्रकृति माथिको दोहनको प्रतियोगिताले समग्र ‘सर्भाइभल सिस्टम’ नै थलिएको छ । हाल प्रदूषण कम भएको , सहरहरु व्यवस्थित देखिएको, समुद्री तटहरुमा जलचरहरु रमाउँदै गरेको, सहरमा जनावरहरु निस्कन थालेको समाचार आएका छन् । मानवले प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरेको अवस्था छ । कतै यसलाई सन्तुलन गर्न स्वयं प्रकृति नै जुर्मुराएको त होइन ? अनि यसैको परिणाम पो हो कि यो महामारी ? अब सोच्नै पर्ने भएको छ ।
दोस्रो, प्राथमिकतामा रुपान्तरण । असामान्य अवस्थामा शक्ति सम्पन्न राष्ट्र पनि विपन्न बन्दो रहेछ । सम्पन्न भनिएका देशहरु झन् प्रताडित हुनुले यही सन्देश दिन्छ । संसारमा निरपेक्ष रुपमा सुरक्षित कुनै पनि मुलुक छैन । विकसित राष्ट्रको भिसा लाग्नु जीवनको ‘सेफ ल्यान्डिङ ’ होइन । पैसा, पद र प्रतिष्ठा भन्दा मनको शान्ति ठूलो कुरा हो । राष्ट्रनिर्माण, भाइचारा, शान्ति, प्रेम र विश्ववन्धुत्वको भावना अब हाम्रो प्राथमिकतामा पर्नुपर्छ ।
तेस्रो, परिस्कृत जीवनशैली । समयलाई नै जित्न खोज्दै दौडिरहेको हुन्छ मान्छे । सधैंको तछाड, मछाड । कसका लागि ? किन ? कहिलेसम्म ? स्वयं उसैलाई थाहा हुँदैन । आफ्नो लागि त समय नै हुँदैन ऊसँग । कुनै पनि भाइरसलाई मार्ने औषधी आजसम्म बनेको छैन । मानव शरीरको ‘इम्युन सिस्टम ’ ले त्यो क्षमता राख्छ । सही खानपान , सकारात्मक सोंच योग, ध्यान यसका कच्चा पदार्थ हुन् । हामीलाई मार्ने त भाइरसले नभई हाम्रो कमजोर ‘इम्युन सिस्टम’ ले हो । अहिलेको जीवनशैलीलाई पूर्ण विराम नै लगाउनु पर्छ ।
विकसित राष्ट्रको भिसा लाग्नु जीवनको ‘सेफ ल्यान्डिङ ’ होइन । पैसा, पद र प्रतिष्ठा भन्दा मनको शान्ति ठूलो कुरा हो । राष्ट्रनिर्माण, भाइचारा, शान्ति, प्रेम र विश्ववन्धुत्वको भावना अब हाम्रो प्राथमिकतामा पर्नुपर्छ ।
गुगलले कोरोना सतर्कतामा अमेरिका भन्दा पनि नेपाल अगाडि रहेको तथ्य सार्वजनिक गरेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना रोकथाममा नेपालको कदमको प्रशंसा गरेको छ । यो हाम्रो लागि उत्प्रेरणारुपी खुराक हो ।
अन्त्यमा, कोरोनाबाट सिर्जित संकटहरुको व्यवस्थापन र नागरिक जीवन रक्षाको मुख्य दायित्व राज्यको हो । अनि यो विषम परिस्थितिमा राज्यलाई सहयोग गर्नु नागरिकको कर्तव्य पनि हो । ‘अनिकालमा बीउ जोगाउनू , हुलमुलमा जीउ जोगाउनू’ । यो परीक्षाको घडीमा आत्मबल, आशा, सहकार्य र समन्वयको बीउ जोगाउनै पर्ने हुन्छ । सर्वपक्षीय तयारी, तदरुकता र तादात्मयताबाट नै महामारी विरुद्धको कवच निर्माण हुन सक्छ । यो नै आजको समयले माग गरेको आपत धर्म हो ।
वाणगंगा नपा, कपिलवस्तु
sangitasubedi42@gmail.com
Copyright © 2025 Bikash Media Pvt. Ltd.