२०७७ जेठ ४ गते १७:३६ विकासन्युज
काठमाडौं । बीमा समितिले कोरोना भाइरस सम्बन्धि बीमा नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । जीवन बीमा कम्पनीहरु आफ्ना प्रचार सामाग्रीमा कोरोना बीमा हुने उल्लेख गरेको, बैंकहरुले जीवन बीमा कम्पनीको नाम जोडर खाता खोल्नेलाई कोराना बीमा सेवा दिने भनी प्रचार गरेको पाइएको भन्दै बीमा समितिले यस्ताे निर्देशन जारी गरेको हो ।
बीमा समितिबाट स्वीकृति लिएर निर्जीवन बीमा कम्पनीहरुले प्रति व्यक्ति ५० हजार र १ लाख रुपैयाँ बीमाङ्क रकमको कोरोना भाइरस सम्बन्धि बीमा लेख जारी गर्दै आएका छन् । करिव १ महिना अवधिमा ७० हजार भन्दा बढीले कोरोना भाइरस सम्बन्धि बीमा पोलिसी खरिद गरेका छन् भने ३ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ ।
गत साता मात्र नेपाल जीवन बीमक संघले कोरोना बीमा सहित जीवन बीमा सम्बन्धि सबै सेवा जीवन बीमा कम्पनीले मात्र गर्न पाउने व्यवस्था गर्न माग गरेको थियो । समितिले कोराना बीमा निर्जीवन प्रकृतिको बीमा भएकोले निर्जीवन बीमा कम्पनीले मात्र पाउने भनेकोले बीमा समितिको निर्देशन अनुसार आफूहरुले काम गर्ने जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए ।
कोरोना बीमा विशेष प्रकृतिको भएको, बीमा पुलमार्फत बीमा गरिएको, नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत पुर्नबीमा पनि गरेको, १० हजार जनासम्मले बीमा दावी गर्दा क्षतिपूति दिन सक्ने हिसाव किताव रहेको जानकारी दिदै बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुले लागि अहिले कोरोना बीमा पोलिसी जारी गर्न नपाउने गरि निर्देशन दिएको बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.