विदेशमा अलपत्र परेका ७ लाख नेपाली देश फर्कने प्रतिक्षामा, २५ हजारलाई ल्याउने तयारीमा सरकार

  २०७७ जेठ १९ गते ११:२६     विकासन्युज

काठमाडौं । रोजगारीको क्रममा विदेशमा रहेका करिब ७ लाख नेपाली श्रमिक फर्कने चाहेका छन् । विश्वमा नै फैलिएको कोरोना भाइरसको कारण खाडी तथा मध्यपूर्वी देशमा रहेका करिब ७ लाख नेपाली स्वदेश फर्कनका पाउँ भन्दै म्यानपावर व्यवसायी, दूतावास एवम् एनआरएनएको सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयले १० लाख नेपाली फर्किने अवस्थामा रहेको जानकारी दिँदै आएको छ । तत्कालका लागि ५ देखि ६ लाखसम्म खाडी तथा मध्यपूर्व देशमा रहेका नेपाली फर्किन चाहेपनि सरकारले पहिलो चरणमा २५ हजारलाई मात्र ल्याउन सकिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक रुपमा जानकारी दिएका छन् ।

२/३ महिनादेखि रोजगारी गुमाइ नेपाल आउने प्रतिक्षामा रहेका धेरै नागरिक छन् । तर सजायबाट आममाफी पाएका, श्रमको करार अवधि सकिएका, रोजगारी गुमाएर बसेका, कोरोनाबाहेक अन्य कारण विरामी भएका, सुत्केरी, गर्भवती, जेष्ठनागरिक, अशंक्त, अध्ययनमा आएका विद्यार्थी, आफन्तको मृत्यु भई काजकिरिया गर्न नेपाल आउनुपर्ने, भिजिट भिसामा रहेकालाई स्वदेश फर्काउने सरकारको पहिलो प्राथमिकता रहेको छ ।

ठूलो संख्यामा रोजगारी गुमाएर बसेका मध्यपूर्वी तथा खाडी राष्ट्रमा रहेका नेपाली सरकारको प्राथमिकतामा परेको छ । विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ठूलै भइसकेको छ भने धेरै लामो समय देखि रोकिएर रहेका अन्य १ सय ९९ वटा विभिन्न कारण मृत्यु भएका शव रोजगार गन्तव्य मुलुकमा नै रहेका हुँदा सरकारले उक्त शव परिवारलाई बुझाउनु पर्ने अर्काे महत्वपूर्ण काम छ ।

पछिल्लो समय गन्तव्य मुलुकमा नै शवको अन्तिम संस्कार गर्नका लागि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारसँग कुरा गर्दै आएको छ । हालसम्म ७५ परिवारले स्वीकृति दिएका छन् ।

त्यस्तै कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली आफ्नै देशमा आइ सिप अनुसारको काम गर्न चाहनेको संख्या धेरै रहेको विदेशस्थित विभिन्न दुतहरुको जानकारी दिँदै आएका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८ देखि १० वटा उडान भर्नेछ । सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर) रिपोर्ट अनिवार्य गरिएको छ ।

विदेशबाट आएका नेपालीका होल्डिंग सेन्टर, होटल क्वारेन्टाइन तथा स्थानीय निकायमा बनाएको क्वारेन्टाइनसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ । सरकारले अर्काे हप्तादेखि उक्त कार्य शुरु गर्ने भन्दै आएको छ । यो सबै कार्ययोजना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उच्चस्तरिय समितिले तय गरेको छ ।