२०७७ जेठ २० गते ७:५९ विकासन्युज
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो ।
७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा यसबारे अनुसन्धान जारी रहेको उल्लेख छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसभन्दा अगाडी पनि प्रधानमन्त्री नेतन्याहुले दुई पटक कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.