अब घरबाटै सिटिजन लाइफको जीवन बीमा लिन सकिने

  २०७७ जेठ २६ गते १९:४४     विकासन्युज


काठमाडौं । अब सिटिजन लाइफ इन्स्याेरेन्सको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएको छ । कम्पनीले अनलाइन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएसँगै ग्राहक उक्त सुविधा पाउने भएका हुन् ।

हालको परिस्थिती र समयको आवश्यकता समेतलाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यसै क्रममा आजै अनलाइन मार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकलाई कम्पनीले धन्यवाद दिएको छ ।

बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन गरी एजेन्ट पोर्टल अन्तर्गत गएर ग्राहकहरुको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज वनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउँदै जाने कम्पनीको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।

साथै, कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी ईसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।