लकडाउनमा दाना खुवाउन कोही नआएकाले एक हजार भन्दा बढि परेवा मरे

  २०७७ जेठ २८ गते ६:३९     विकासन्युज

काठमाडौं । अफगानिस्तान स्थित मशहूर मजार ए शरीफ मस्जिदमा एक हजारभन्दा बढि परेवाहरु मरेका छन् ।

हाल जारी लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द रहेको छ र सोही कारण त्यहाँ पालिएका सेता परेवालाई दाना खुवाउन कोहीपनि पुगेका छैनन् । लामो समयदेखि खान नपाएका ती सेता परेवाहरुले भोकै प्राण त्यागेका छन् ।

सो मस्जिदका कर्मचारीले दैनिक जसो ३० ओटा जति सेता परेवा मरिरहेको र हालसम्म १ हजार भन्दा बढि परेवा मरिसकेको बताएका छन् ।

अफगानिस्तानमा लकडाउनका कारण सम्पूर्ण धार्मिक स्थलहरु बन्द रहेका छन् । हालसम्म त्यहाँ कोरोना संक्रमित मानिसहरुको संख्या २१ हजार पुगेको बताइए पनि ठिक आँकडा चाहिँ त्यो भन्दा धेरै हुनसक्ने मानिँदै आएको छ ।