२०७७ जेठ ३२ गते ११:१६ नविन पाेखरेल
काठमाडौं । लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली काम गर्न तथा नयाँ किसिमका बजार सुहाउने बीमालेख जारी गर्नु पर्ने पाठ सिकाएको सरोकारवालाले बताएका छन् । बीमा समिति तथा कम्पनीहरुले दिएको जानकारी अनुसार बीमा क्षेत्रले अब प्रविधिमैत्री वातावरणमा जोड दिनु पर्छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली अघि बढ्न तथा नयाँ किसिमका बीमा प्रोडक्ट अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ ।
‘लकडाउनले बीमा क्षेत्र डिजिटलाईजेसनमा जानुपर्छ, अब नयाँ–नयाँ किसिमको बीमालेख बेच्नुपर्छ, पुराना मात्र बेचेर हुँदैन, हाम्रा सिस्टमलाई पनि पहिले प्रविधिमैत्रीमा रुपान्तरण गर्नु पर्छ भन्ने सिकाएको छ, यस्तै विश्वभरी लकडाउन हुँदा मलेसियाको मार्केटमा कुनै असर देखिएन, यसरी हामी ठूला जोखिममा हामी कसरी बाच्ने र बचाउँने तथा व्यवसायलाई सँगसँगै लैजाने भन्ने पनि हामीले सिकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार लकडाउनका कारण बीमा क्षेत्रमा अन्य क्षेत्रमा जस्तै केही समस्या देखिएका पनि अब नयाँ ढंगबाट अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।
‘हामीले हाल संचालनमा रहेका बीमा पोलिसीहरु नवीकरण गर्न पाएनांै, ल्याप्सेसहरु बढे, सरेन्डर गर्ने पनि बढ्ने अवस्था देखिन्छ, कोरोना महामारीले जीवन बीमामा मृत्यु दाबीको मात्रा बढ्ने सम्भवना पनि छ, हामीले जे छ त्यही वास्तविकतालाई स्वीकारेर अघि बढ्नु पर्छ भन्ने पाठ सिकायो’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।
डिजिटलाइजेसनमा अभिकर्ताको भूमिका के ?
बिमितको ढोकासम्म पुगेर बीमा चेनता फैलाउने तथा सहजिकरण गर्ने अभिकर्ताहरु सक्रिय रुपमा काम गर्न पाएनन् । लकडाउनको कारण समाजिक दूरी कायम गर्नुपर्ने भएकाले अभिकर्ताहरुले आफूले गर्दै आएको काम रोकियो । यसबाट अभिकर्तालाई मात्र नभई बीमा क्षेत्रलाई व्यवसायिक प्रभाव परेको छ ।
आगामी दिनमा डिजिटल रुपमा बीमा व्यसाय संचालन हुने कुराहरु आइरहेका छन् । यस्तो अवस्थामा बीमा अभिकर्ताहरुको अनलाईनमा भुमिका के हो भन्ने त्यति प्रष्ट छैन । साथै, अभिकर्ताविना नै बीमा बजार संचालन हुन्छ त भन्दा बीमा कम्पनीहरुले त्यस्तो सम्भव नभएको बताएका छन् ।
एकातिर अभिकर्ताले अनलाईनबाट के गर्ने र कति गर्ने भन्ने टुङ्गो छैन भने अर्कोतर्फ बीमा व्यवसाय अनलाइन मार्फत नै अघि बढाउदा राम्रो हुने जानकारहरु बताउछन् ।
नयाँ प्रोडक्टमा आर्कषण
बीमा क्षेत्रमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न किसिमका बीमा सेवा प्रवाह गर्दै आएका छन् । पछिल्लो समय कोरोना बीमामा बीमितको आकर्षण बढ्नुले बीमितहरुले नयाँ किसिमका प्रोडक्ट पर्खिरहेका छन् कि भन्नेपनि देखिन्छ ।
कोरोना त्रासको समयमा बीमा समितिले ल्याएको कोरोना बीमामा अत्याधिक आकर्षण बढ्नुले पनि दुःखको साथी बीमा हो भन्ने पुष्टी गरेको सरोकारवाला बताउँछन् ।
नेपाली बीमा क्षेत्रले भूकम्पबाट एउटा पाठ तथा कोरोना महामारीबाट अर्को पाठ सिकेको सरोकारवालाको भनाइ छ । तर बीमा क्षेत्र आफैमा भविष्यको जोखिम लागि रक्षावरण गर्ने क्षेत्र भएकाले पाठ सिक्ने मात्रै भन्दापनि अप्रत्यासित किसिमका जोखिमका लागि तयार हुनु पर्ने देखिएको छ ।
डिजिटल्ली अघि बढ्न आवश्यक सम्भव कति ?
कोरोना महामारीले विश्वलाई नै भीडभाडबाट टाढा रहनु पर्ने पाठ सिकाइरहेको छ । यस्तो बेलामा जनुकुनै क्षेत्रले सामाजिक दूरी कायम गर्नु अनिवार्य नै हो । त्यसको उत्तम विकल्पका रुपमा बीमा क्षेत्र पनि डिटिल्ली अघि बढ्नुको विकल्प देखिदैन ।
तर, घरबाटै बीमितले बीमा पोलिसी किन्ने वातावरण अहिले सिर्जना भइ नसकेको बीमा कम्पनीहरु बताउछन् । बीमितले पोलिसी खरिद गर्न तथा अनलाइनबाटै दाबी भुक्तानी पाउँने अवस्था अहिलेसम्म छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.