अधिकांश लगानीकर्ताले यो वर्ष लाभांश पाउने, १२ घण्टा बैंक चलाउन असम्भव

  २०७७ असार ३ गते २३:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबी बैंकमा अध्यक्ष पवन गोल्यानले चालु आर्थिक वर्षको कमाईबाट बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश खुवाउन सक्ने तर अर्को वर्ष लाभांश वितरण गर्ने सम्भावना नरहेको बताएका छन् ।

विकासन्युजको यूट्युव च्यानल विकास वहसमा कुरा गर्दै अध्यक्ष गोल्यान करिव साढे ९ महिना बैंक तथा वित्तीय संस्थाले राम्रो व्यवसाय गरेकोले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था नाफा कमाउने तर अर्को आर्थिक वर्षदेखि बैंकहरुलाई निकै कठिन हुने उनले बताए । अागामी वर्ष नाफा घटेपनि बैंक तथा वित्तीय संस्था नोक्सानमा भने नजाने उनको विश्लेषण छ ।

उद्योग वाणिज्य महासंघ लगायत संस्थाका नेतृत्वले बैंकले धेरै नाफा कमाए, बैंकको सीईओले तवल धेरै खाए भनेर बारम्बार बोल्ने, मिडियाले समाचार प्रकाशन गर्ने जस्ता कार्यले राष्ट्र बैंकमाथि नाफा नियन्त्रण गर्न ठूलो दवाव परेको बताउँदै गोल्यानले भने–‘वास्तवमा बैंकहरुको नाफा धेरै छैन । गत वर्षको आरओई १२ प्रतिशतमा झरेको छ । मर्जपछि बैंकहरुको पुँजी धेरै बढेको छ र प्रतिफल धेरै घटेको छ । यो तथ्यलाई सबैले बुझ्नुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाको नाफा घट्दा १६ लाख साना लगानीकर्ता आर्थिक संकटमा पर्ने पनि उनले बताए ।

राष्ट्र बैंकले लगानीकर्तालाई प्राथमिकता नदिएको, सञ्चालक समितिको अधिकारलाई कटौति गर्दै गएको विषयमा बैंक तथा वित्तीय परिसंघ किन बोल्न सकेन ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने–‘बैंकको व्यवस्थापन पक्षलाई बलियो बनाउनै पर्छ । व्यवस्थापनलाई अधिकार सम्पन्न बनाउने अभ्यास अन्तराष्ट्रिय जगतमा पनि भईरहेको छ । एनएमबी बैंककै कुरा गर्नुहुन्छ भने सीईओलाई १ अर्ब १० करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने अधिकार दिएको छ ।’

बैंकले सबैभन्दा बढी प्राथमिकता कर्मचारीलाई दिनुपर्ने, दोस्रो प्राथमिकता लगानीकर्तामा दिनु पर्ने, तेस्रो प्राथमिकता निक्षेपकर्तालाई दिनुपर्ने र चौथो प्राथमिकता ऋणीलाई दिनुपर्ने उनको भनाई छ ।

पछिल्लो समय राष्ट्र बैंकले ऋणीलाई दिएको व्याज सहुलियतले ठूला व्यवसायीलाई भन्दा साना व्यवसायीलाई बढी लाभ हुने उनले बताए । बैंक तथा वित्तीय संस्थालाई दिएको व्याज छुट बराबर रकम सरकारले अनुदान दिनुपर्छ भनेर आफूले धेरै पटक बोलेको र मौद्रिक नीति मार्फत अहिलेको समस्या राष्ट्र बैंकले सम्बोधन गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाले दुई सिफ्टमा सेवा सञ्चालन गर्नु पर्ने भनी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकिने उनले प्रष्ट पारे । उक्त निर्णय कार्यान्वय गर्न नसकिने जानकारी दिदै नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकलाई पत्राचार गर्न लागेको पनि उनले बताएका छन् ।

‘विहान ८ बजेबाट सेवा सञ्चालन गर्न ७ बजेदेखि नैं बैंकमा जानु पर्ने हुन्छ । साँझ ६ बजेसम्म सेवा दिदाँ ७ बजेसम्म व्यवस्थापकीय काम गर्नुपर्ने हुन्छ’ उनले भने–‘एउटै व्यक्तिलाई १२ घण्टा काम लगाउन पनि सकिदैन । दुई सिफ्टमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थासँग प्रयाप्त कर्मचारी पनि छैनन् ।’

पूरा अन्तरवार्ताको लागि क्लिक गर्नुहोस्