२०७७ असार ४ गते १२:५० विकासन्युज
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो ।
१ सय ९३ सदस्यीय महासभामा १ सय ८४ राष्ट्रले मतदान गरेका थिए । राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी र अस्थायी गरी कूल १५ राष्ट्र सदस्य हुन्छन् । राष्ट्रसंघमा पाँच मुलुकहरु संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र रहेका छन् भने बाँकी १० अस्थायी सदस्यहरु निर्वाचनबाट छनौट हुने व्यवस्था छ ।
राष्ट्रसंघ सुरक्षा परिषदमा विजयी भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि टि एस तिरुमुर्तीले राष्ट्रसंघको सुरक्षा परिषदमा भारत निर्वाचित भएकामा गौरवको अनुभूति भएको बताए ।
कोरोना भाइरस महामारीलाई ध्यान दिएर राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा आयरल्यान्डले १ सय २८ मत पाएको थियो भने केन्याले १ सय १३ मत पाएको थियो । नर्वे पनि युरोपेली समूहबाट निर्वाचित भएको छ ।
तर, राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा चुनाव लडेको क्यानाडा भने पराजित भएको छ । क्यानाडाले आवश्यक दुई तिहाई मत प्राप्त गर्न असफल भएको थियो । क्यानाडेली संचार माध्यमहरुका अनुसार उत्तर अमेरिकी मुलुक क्यानाडाले १ सय ८ मत मात्र प्राप्त गरेको थियो । यो सहित क्यानाडा लगातार दोस्रो पटक पराजित भएको छ । रासस–एएनआई
Copyright © 2025 Bikash Media Pvt. Ltd.