कलंकी–थानकोट सुरुङमार्गमा जग्गा पर्ने जग्गाधनीलाई ५० प्रतिशत क्षतिपूर्ति दिइने, ४ बस्तु आयातमा प्रतिबन्ध

  २०७७ असार ५ गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले कंलकी–नागढुङ्गा–थानकोट सुरुङ मार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गाधनीहरुलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सुरुङ मार्ग आयोजना निर्माण गर्दा आवश्यक पर्ने जग्गा अधिग्रहण गर्दा आउने जग्गाको क्षतिपूर्ति स्वरुप जग्गाधनीर्लाइ ५० प्रतिशत क्षतिपूर्ति दिने बताएका हुन् ।

असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै उनले साे क्षेत्रमा लामाे समयदेखि भोगचलन गर्दै आएका, जग्गाधनी प्रमाणपत्र नभएका, प्रमाणपूर्जा तर  मालपोत कार्यालयमा भएको स्रेस्ता फिल्डबुकमा जनाउँ रहेको आधारमा त्यस्तो किसिमको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको बताए ।

त्यस्तै, सरकारले विभिन्न चार वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले विभिन्न चार वस्तुमा आयात प्रतिबन्ध लगाएकाे बताएका छन् ।

छोकडा, केराउ, मदिरा, मरिच लगायतका वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको उनले बताए । तर मरिचको हकमा भने कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुले आयात गर्न पाउने व्यवस्था रहेको खतिवडाले बताए । तर उनीहरुले सम्बन्धित निकायको अनुमति लिन पर्नेछ ।