नेपाल इन्स्योरेन्सको बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब १५ करोड नाघ्यो

  २०७७ असार ५ गते १४:५७     विकासन्युज


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

साथै, उक्त बोनस सेयरमा लाग्ने कर सहित चुक्ता पुँजीको २.८९ प्रतिशतले हुने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ । यससँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

साथै, उक्त नगद लाभांश रकमबाट गत आर्थिक वर्ष २०७४/०७५ मा जारी गरिएको बोनस सेयरमा तिर्नु पर्ने कर रकम चुक्ता नभएका सेयरधनीहरुका हकमा उक्त कर रकम समायोजन गरी बाँकी रकम नगद लाभांश भुक्तानी दिने प्रस्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ ।

उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा असार ५ गते कम्पनीको भवन कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष ०७५/०७६ मा कम्पनीको प्रगति विवरण

कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको र यस महामारीले आगामी दिनमा व्यवसाय गर्ने तरिका, सुरक्षा, प्रविधिको प्रयोग र यस प्रकारका भवितब्यबाट पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्ने तर्फ समेत सचेत रहि आफ्नो रणनीति बनाउने कम्पनीले बताएको छ ।

कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखा सञ्जाल विस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पुर्याउने कम्पनीको योजना रहेको छ ।