२०७७ असार ११ गते १५:०५ विकासन्युज
काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार कार्यालयमा करिब डेढ महिनादेखि ५ सय ट्रक कन्टेनर रोकिएका छन् । भारत लगायत विभिन्न देशबाट नेपालमा भित्र्याइएका सामान बोकेका कन्टेनर भन्सारले रोकेपछि नेपाल भित्रन नपाएर थन्किएका हुन् ।
संघीय सरकारले आयात रोक लगाएका वस्तु नेपाल भित्र्याउन नपाइने भएकोले करिब डेढ महिनादेखि सुख्खा बन्दरगाहको यार्डमा रोकिएका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । सरकारले चैत १६ गतेदेखि नेपालमा आयात हुने विभिन्न वस्तुमा रोक लगाएको थियो ।
‘संघीय सरकारले रोक लगाएका वस्तु आयात गर्न नपाइने भएकोले रोकिएको हो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति दिएका र सरकारले प्रतिवन्ध लगाउन अघि प्रतिपत्र (एलसी) खोलिएका वस्तु भने रोकिएको छैन,’ प्रमुख भन्सार अधिकृत श्रेष्ठले विकासन्युजसँग भने ।
भन्सार कार्यालयका अनुसार यसरी आयात गरिएकामध्ये अधिकांश कन्टेनरमा केराऊ छ । यस्तै, मरिच, सुपारी र छोकडा बोकेका कन्टेनर पनि रोकिएका छन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । पछिल्लो विश्व परिवेशको मूल्यांकन गर्दा विदेशी मुद्राको संचितिमा चाप पर्ने भन्दै सरकारले १६ चैतमा केराऊ, सुपारी, मरिच, छोकडा लगायतका केही वस्तुको आयात प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले प्रतिबन्द लगाइसकेपछि एलसी खोलेर आयात गरिएका वस्तु भन्सारमा रोकिएका हुन् ।
यसरी रोकिएका वस्तुको विषयमा के गर्ने भनेर सुख्खा बन्दरगाह भन्सार कार्यालयले आवश्यक निर्णयका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको छ । मन्त्रालयले भन्सारलाई कुनै निर्णय नदिएका कारण कन्टेर रोकिएका हुन् । मन्त्रालयको जवाफपछि आवश्यक निर्णय लिइने भन्सारको भनाइ छ ।
भन्सारले अहिले आयात भएका वस्तु सामान्य अवस्थाको तुलनामा बढी नभएको र नियमित आयात गर्ने व्यापारीहरुले नै ल्याएको जानकारी दिएको छ ।
‘हामीले करिब ५ सय कन्टेनर रोकेका छौं, सामान्य अवस्थाको आयात हेर्दा यो संख्या धेरै होइन, नियमित रुपमा यस्ता वस्तु आयात गर्ने व्यापारीले नै ल्याएको हुनाले थप शंका गर्नुपर्ने अवस्था छैन, सरकारको नीतिगत निर्णको आधारमा मात्रै हामीले रोकेका हौं,’ प्रभुख भन्सार अधिकृत श्रेष्ठले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.