२०७७ असार २९ गते १२:०९ नबिन पोखरेल
काठमाडौं । रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ स्थानीय पेशाकर्मीको निःशुल्क कोरोना बीमा गराएका छन् । नेपाली कांग्रेसबाट विजयी सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बीमा गराएका हुन् ।
उनले प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गराएका हुन् । बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ । समाजमा अग्रपंतीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको निःशुल्क बीमा गराएर मनोबल उच्च बनाउने पहल गरिएको सांसद आचार्यले बताए ।
‘कोभिड १९ जित्न मनोबल दह्रो हुन आवश्यक छ, विभिन्न पेशामा आवद्ध रहेका जिम्मेवार व्यक्तिहरु नै कोरोनाको डरले काम गर्न पछि हटे भने थप समस्या सिर्जना हुन्छ भन्ने मलाई लाग्यो, सोही कारण बीमाको आवश्यकता देखें,’ सांसद आचार्यले विकासन्युजसँग भने ।
उनले बीमा गराउनको लागि सार्वजनिक आव्हान नै गरेका थिए । उनको आव्हान स्वीकार गरेर सम्पर्क आएका सबैको बीमा गराएको आचार्यको भनाइ छ । उनी गत निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका हुन् । आचार्य नेपाली काँग्रेसका नेता हुन् ।
कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ । उक्त बीमा गराउदा ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क तिरिएको सांसद आचार्यले जानकारी दिए ।
काम गर्ने क्रममा सबैको मनोवल उच्च रहोस भन्ने उद्देश्यले कोरोना बीमा आवश्यक मानिन्छ । अहिले विश्व नै कोरोना महामारीको संकटमा गुज्रिरहेको छ । यस्तो अवस्थामा बीमा गर्दा बिमितलाई कोरोनाको त्रासले दैनिकीमा पार्ने असर कम हुने अनुमान गरिन्छ ।
कोरोना बीमामा बिमितको पीसीआर परीक्षणमा पोजेटिभ देखिने वित्तिकै दाबी भुक्तानी हुन्छ ।
अन्य रोगहरुको विरुद्ध बीमा गर्दा भने अस्पतालबाट जारी भएका कागजात, सक्कली बिल पेश गरेपश्चात दाबी–भुक्तानी दिने गरिन्छ । तर, कोरोना बीमामा रिर्पोट पोजेटिभ आउँने वित्तिकै दाबी भुक्तानी हुने व्यवस्था मिलाइएको छ । कोरोना बीमामा ५० हजार रुपैयाँ बराबरको लागि ५ सय रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा गर्न १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.